काठमाडौँ । मुलुकको प्रमुख सुरक्षा सङ्गठन नेपाली सेनाको ४५औँ प्रधान सेनापतिका रुपमा बलाधिकृत रथी अशोकराज सिग्देलले करिब एक महिनापछि जिम्मेवारी सम्हाल्दै छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले यही २५ साउनदेखि लागू हुनेगरी रथी सिग्देललाई कायममुकायम प्रधान सेनापतिको जिम्मेवारी तोकेसँगै सङ्गठनको नेतृत्व गर्ने बाटो खुलेको हो ।
१० साउनको मन्त्रिपरिषद् बैठकले ज्येष्ठताका आधारमा रथी सिग्देललाई कामु भई प्रधान सेनापतिको जिम्मेवारी सम्हाल्ने गरी तोक्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । प्रधान सेनापति प्रभुराम शर्मा तीनवर्षे पदावधि २४ भदौमा समाप्त भई अनिवार्य अवकाशमा जाँदै छन् । प्रधानसेनापति अवकाश हुनु एक महिना घर बिदामा बस्ने प्रावधान रहेअनुसार रथी सिग्देलले कामु प्रधान सेनापतिको जिम्मेवारी पाएका हुन् ।
