ललितपुर । ललितपुर महानगरप्रमुख चिरीबाबु महर्जनले नगर प्रहरीले नागरिकमैत्री भएर सकारात्मक काम गरिरहेको बताएका छन् । ललितपुर महानगरपालिकाद्वारा आयोजित ‘प्रकाशित तस्बिरमा नगरप्रहरी’ पुस्तक विमोचन कार्यक्रममा उनले महानगरबाट भएका निर्णय विवादरहित तवरले कार्यान्वयन गर्न नगरप्रहरीले सराहनीय काम गरेको धारणा राखे ।
“मूर्त तथा अमूर्त सम्पदा संरक्षणमा शून्य सहनशीलताको नीतिअनुसार काम गरिरहेका छौँ, एउटा तस्बिरले धेरै शब्द बोल्छ भने जस्तै तस्बिरले थुप्रै काम भएको देखाएको छ, महानगर प्रहरीले वादविवादरहित तरिकाले कार्यसम्पादन गर्न सफल भएको छ”, प्रमुख महर्जनले भने, “महानगरका लागि सबै बराबर हुन, कसैलाई काखापाखा हुने गरी निर्णय हुँदैन, यहीअनुसार नगर प्रहरीले सकारात्मक भएर नागरिकलाई केन्द्रमा राखी काम गरिरहेको छ ।” उनले विवादरहित तवरले स्थानीय तहका निर्णय कार्यान्वयनमा ललितपुर महानगर प्रहरीले गरेको काम अन्य महानगर र नगरपालिकाहरुले पनि पछ्याउन योग्य रहेको बताए ।
