काठमाडौँ । यो साताको प्रारम्भमा सर्वाधिक कारोबार रकमसहित उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अङ्कले घटेको छ । नेप्से परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ ।
नेप्से परिसूचक ८.१८ अङ्कले घटेर २९२३.४६ विन्दुमा कायम भएको हो । तीन सय ३२ कम्पनीको पाँच करोड २७ लाख ६४ हजार आठ सय ३२ कित्ता सेयर दुई लाख ४१ हजार छ सय ६५ पटक खरिदबिक्री हुँदा २१ अर्ब ५१ करोड ५० लाख १० हजार छ सय ३३ बराबरको कारोबार भएको छ ।
नेप्सेका अनुसार बैंकिङ ०.४५, वित्त १.५७, लगानी ०.०८, व्यापार ०.०६ र जीवन बिमा ०.५४ प्रतिशतले बढेको छभने अरु सबै समूहको उपसूचक घटेको छ । विकास बैंक १.३६, होटेल तथा पर्यटन २.२५, जलविद्युत् ०.३५ र उत्पादन तथा प्रशोधन समूह १.४० प्रतिशतले घटेको छ । त्यसैगरी, लघुवित्त १.१३, म्युचुअल फन्ड ०.०७, निर्जीवन बिमा १.०२ र अन्य समूहको उपसूचक ०.७४ प्रतिशतले घटेको छ ।
मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेड, पिपल्स पावर लिमिटेड र डोल्टी पावर कम्पनी लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । नेपाल फाइनान्स लिमिटेडको सबैभन्दा धेरै सेयर मूल्य ९.९३ प्रतिशतले घटेको छ । सबैभन्दा धेरै नेपाल फाइनान्स लिमिटेडको ८१ करोड ९९ लाख ४० हजार आठ सय २२ बराबरको कारोबार भएको छ । कारोबार भएका सेयर सङ्ख्याका आधारमा भने नविल ब्यालेन्स फन्ड–२ को २९ लाख ८६ हजार नौ सय सात कित्ता सेयर किनबेच भएको छ ।
