मूल्यवृद्धि ५.४४ प्रतिशत

काठमाडौँ । आर्थिक वर्ष २०८०/८१ को वार्षिक औसत मुद्रास्फीति ५.४४ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको गत आर्थिक वर्षको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार मूल्यवृद्धि वाञ्छित सीमाभित्र देखिएको हो । राष्ट्र बैङ्कका आनुसार गत आवमा आयात १.२ प्रतिशतले र निर्यात तीन प्रतिशतले घटेको छ । अघिल्लो वर्ष आयात १६.१ प्रतिशतले र निर्यात २१.४ प्रतिशतले घटेको थियो ।

गत आवमा विप्रेषण आप्रवाह १६.५ प्रतिशतले बढेर १४ खर्ब ४५ अर्ब ३२ करोड पुगेको छ । त्यस्तै शोधनान्तर स्थिति पाँच खर्ब दुई अर्ब ४९ करोडले बचतमा रहेको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति दुई खर्ब ८५ अर्ब ८२ करोडले बचतमा रहेको थियो । गत आवमा कूल विदेशी विनिमय सञ्चिति १५ अर्ब २७ करोड अमेरिकी डलर रहेको छ । उक्त सञ्चिति १३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ । यो अवधिमा विस्तृत मुद्राप्रदाय १३ प्रतिशतले बढेको छ ।

गत आवमा बैङ्क तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन १३ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ५.८ प्रतिशतले बढेको छ । गत असार मसान्तमा बैङ्क तथा वित्तीय संस्थाहरुमा रहेको निक्षेप६४ खर्ब ५२ अर्ब र निजी क्षेत्रमा प्रवाहित कर्जा रु ५० खर्ब ७४ अर्ब पुगेको छ ।


Recommended For You