काठमाडौँ । यो सातामा कारोबारको दोस्रो दिन पनि पुँजीबजारमा उच्च अङ्कको गिरावट देखिएको छ । आइतबार ७९.८८ अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक एक सय ११.९६ अङ्कले घटेर दुई हजार सात सय ८२.६० को बिन्दुमा कायम भएको छ ।
नेप्से परिसूचक ३.८६ प्रतिशतले घटेको हो । तीन सय ३० कम्पनीको चार करोड ३८ लाख ६८ हजार नौ सय ७० कित्ता सेयर दुई लाख ३४ हजार तीन सय ६० पटक खरिदबिक्री हुँदा १८ अर्ब ६४ करोड ९५ लाख ३३ हजार एक सय ७० बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
होटेल तथा पर्यटन समूह ०.४३ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै बैंकिङ ४.९२, विकास बैंक ४.१८, वित्त ४.६९ र लगानी समूह ४.१३ प्रतिशतले घटेको छ ।त्यस्तै, जलविद्युत् तीन दशमलव ९६, जीवन बिमा ३.६५, उत्पादन तथा प्रशोधन २.९३, लघुवित्त २.९६, म्युचुअल फन्ड १.०९, निर्जीवन बिमा २.४५, व्यापार २.१६ र अन्य समूह ३.८५ प्रतिशतले घटेको छ ।
तारागाउँ रिजेन्सी होटेल लिमिटेड, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड र दोल्ति पावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने नेपाल फाइनान्स लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रु ६५ करोड ४२ लाख नौ हजार पाँच सय ८२ बराबरको कारोबार भएको छ । कारोबार भएका सेयर सङ्ख्याका आधारमा भने अपि पावर कम्पनी लिमिटेडको १४ लाख ५९ हजार चार सय ५० बराबरको कारोबार भएको छ ।
