नेप्से परिसूचक उच्च अङ्कले घट्यो, कारोबार रकममा सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५०.७३ अङ्क अर्थात् १.८८ प्रतिशतले घटेर २६३७.७९ को बिन्दुमा कायम भएको हो । लगातार छ कारोबार दिनसम्म घटेको नेप्से परिसूचक गत साता कारोबारको अन्तिम दिन उच्च अङ्कले बढेको थियो । तर बजार सम्हालिन नसक्दा पुनः घटेको छ ।

विभिन्न तीन सय २४ कम्पनीका दुई करोड ४८ लाख ४६ हजार सात सय ८२ कित्ता सेयर एक लाख १९ हजार सात सय ३९ पटक खरिदबिक्री हुँदा १० अर्ब ३३ करोड ९२ लाख ३५ हजार नौ सय ५७ बराबरको कारोबार भएको छ । यो कारोबार रकम पछिल्ला सात दिनमा सबैभन्दा उच्च हो ।

कारोबारपछि वित्त समूह र होटेल तथा पर्यटन समूहको उपसूचकमा उच्च गिरावट देखिएको छ । वित्त समूह ३.५३ र होटेल तथा पर्यटन समूह ३.६८ प्रतिशतले घटेको छ । त्यस्तै, बैंकिङ ०.९३, विकास बैंक २.५१, जलविद्युत् १.४८, लगानी २.८० र जीवन बिमा समूह २.७४ प्रतिशतले घटेको छ । उत्पादन तथा प्रशोधन समूह १.७९, लघुवित्त १.८८, म्युचुअल फन्ड १.६१, निर्जीवन बिमा २.१६, व्यापार ०.९० र अन्य समूह २.२३ प्रतिशतले घटेको नेप्सेले जनाएको छ ।

दुई सय १९ कम्पनीको सेयर मूल्य घट्दा २४ वटाको मात्रै बढेको छ । जसमध्ये रिभर फल्स पावर लिमिटेड, हिमालयन हाईड्रोपावर लिमिटेड र रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । थ्रीस्टार हाईड्रोपावर लिमिटेडको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।कारोबार रकमका आधारमा सबैभन्दा धेरै सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको ६४ करोड ३८ लाख ६६ हजार सात सय ८० बराबरको सेयर खरिदबिक्री भएको छ । कारोबार भएका सेयर सङ्ख्याका आधारमा भने सिङ्गटी हाईड्रो इनर्जी लिमिटेडको नौ लाख ३४ हजार पाँच सय ७८ कित्ता सेयर किनबेच भएको छ ।


Recommended For You