काठमाडौँ । समावेशी बीमासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ । नेपाल बिमा प्राधिकरण, नेपाल बिमक सङ्घ, जीवन बिमक सङ्घ र नेपाल माइक्रोइन्सुरेन्स एसोसिएसनद्वारा म्युनिख री फाउन्डेसन तथा माइक्रोइन्सुरेन्स नेटवर्कसँगको सहकार्यमा सम्मेलन आयोजना भएको हो ।
नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिल्वालका अनुसार कात्तिक ९ गतेसम्म सञ्चालन हुने सम्मेलनमा न्यून आय भएका तथा जोखिममा रहेका परिवार तथा लघु, साना र मझौला उद्योगलाई केन्द्रित गरी समावेशी बिमालाई परिस्कृत गर्नेलगायत विषयमा छलफल हुनेछ ।
यसैगरी, जलवायु जोखिम बिमा, लघुबिमामा ‘डिजिटल’ प्रविधि अवलम्बन र समावेशी बीमा क्षेत्रका अवरोध हटाउनेसम्बन्धी रणनीति तयार गर्नेलगायत विषयमा पनि छलफल केन्द्रित हुने जानकारी उनले दिए । सम्मेलनमा नेपालसहित ४४ देशका बिमा क्षेत्रका नियामक निकाय, विकास साझेदार, गैरसरकारी संस्था र बीमा क्षेत्रका विज्ञहरु गरी चार सयभन्दा बढीको सहभागिता छ ।
