नगरपालिकाको पर्यटन सूचना केन्द्र प्रभावहीन

खोटाङ । खोटाङको त्रि–धार्मिकस्थल हलेसी आउने पर्यटकलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका भित्र्याउन हलेसीमा स्थापना गरिएको पर्यटन सूचना केन्द्र प्रभावहीन बनेको छ । दर्शन एवं भ्रमणका क्रममा हलेसी आउने पर्यटकलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका विभिन्न धार्मिक, ऐतिहासिक र पर्यटकीय स्थलमा पुग्ने वातावरण निर्माणका लागि हलेसीमा स्थापना गरिएको पर्यटन सूचना केन्द्र बिचैमा अलपत्र परेको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले हलेसी महादेवस्थान विकास समितिको कार्यालयमा २९ चैत ०७५ मा स्थापना गरेको सूचना केन्द्र तत्कालीन प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले उद्घाटन गरेका थिए ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आर्थिक वर्ष ०७५/०७६ मा नौ लाख बजेट विनियोजन गरेर पर्यटन सूचना केन्द्र स्थापना गरेको थियो । दिक्तेलबाट बसमा सहभागी लगेर ब्रोसर, टि–सर्ट बाँडेर तामझामसाथ स्थापना गरिएको सूचना केन्द्र कोभिड–१९ को महामारीपछि ठप्प बनेको हलेसी महादेवस्थान विकास समितिका कार्यकारी निर्देशक सम्बर भुजेलले बताए । सूचना केन्द्रमा नगरपालिकाले राखेको डिजिटल डिस्प्ले मात्र छ तर डिस्प्ले पनि हाल चालु अवस्थामा छैन । डिस्प्ले धुलोले पुरिइसकेको छ । सूचना केन्द्रको कार्यालयमा ताल्चा लागेको छ । पर्यटन सूचना केन्द्रलाई पुन: सुचारु गर्ने वा नगर्ने भन्ने विषयमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले ठोस धारणा सार्वजनिक गरेका छैनन् ।

हिन्दु, किरात र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रका रूपमा रहेको हलेसीमा आउने पर्यटक एवं दर्शनार्थीलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाभित्रका रुपाकोट, मझुवागढी, भुलभुले दुधकुण्ड देउधाम, रुवालुङ झरना, बगरेभञ्ज्याङ, महुरेगढी आँखा पोखरी, साप्सुधाप, बुधेश्वर महादेव, सीतादेवी मन्दिर, सहदेवगढी पञ्चकन्य भगवती, दिक्तेल, पन्चेदोबाटोलगायत धार्मिक तथा पर्यटकीय स्थलका विषयमा जानकारी दिँदै भ्रमणका लागि निमन्त्रणा गर्न सूचना केन्द्र स्थापना गरिएको थियो । सूचना केन्द्रमा दुई जना कर्मचारी खटाएर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाभित्र रहेका धार्मिक तथा पर्यटकीयस्थलको बारेमा जानकारी, हलेसीदेखिको दूरी, पुग्ने बाटो, उपलब्ध सुविधालगायत विषयमा जानकारी दिने व्यवस्था मिलाइएको थियो ।

यस बाहेक भिडियो सामग्रीका माध्यमबाट समेत धार्मिक तथा पर्यटकीय स्थलको बारेमा जानकारी दिने व्यवस्था गरिएको जानकारी दिइएको थियो । तर कतिपय पर्यटकले सोधीखोजी गरे पनि हलेसीबाट सूचना केन्द्रमार्फत कोही पनि पर्यटक दिक्तेल रुपाकोट मझुवागढी नभित्रिएको भन्दै आलोचना भइरहेको छ । प्रतिफलविहीन कार्यक्रममा नगरको खर्च भएको स्थानीय बताउँछन् ।


Recommended For You