धनगढी । २० असोजदेखि अविरल वर्षाका कारण कैलालीको भजनी नगरपालिकाका विभिन्न वडामा बाढी आएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार बिहीबारदेखि भइरहेको अविरल वर्षाका कारण भजनी २, ३, ७ र ८ मा रहेका बस्ीमा बाढी पसेको हो । बाढीका कारण हाल सम्म ५ सय बढी मानिस विस्थापित भएको बताए ।
जोशीका अनुसार भजनी–२ स्थित पल्टापुर, मोहनपुर र तीन घरुवा टोलका १ सय २५ घरमा काँडा नदीको बाढी पसेको छ । बस्तीमा बाढी पसेपछि त्यहाँका नागरिक स्थानीय राष्ट्रिय माध्यमिक विद्यालय पल्टापुरमा बसेका छन् ।
यसैगरी, भजनी– ७ को शिविर टोलमा कान्द्रा नदीको बाढी पस्दा करिब ४० घर डुवानमा परेका छन् । त्यहाँका नागरिक भने हाल सम्म विस्थापित नभएका जोशीले बताए ।
यसैगरी, भजनी–८ स्थित खल्ला टोलमा पथरिया नदीको बाढी पस्दा ८० घर डुबानमा परेका छन् । ती क्षेत्रका नागरिक हुलाकी सडकमा त्रिपाल गाडेर बसिरहेका जोशीले बताए । यसैगरी वडा नम्बर– ३ मा आकासे पानी जमेर कम्तिमा ८० घर डुवानमा परेका छन् । सो क्षेत्रमा नागरिक पनि अहिले हुलाकी सडक खण्डमा त्रिपाल टाँगेर बसिरहेका प्रवक्ता जोशीले जानकारी दिए ।
