फिल्म रिलिज नहुँदै सिक्वेलको तयारी

 

एजेन्सी । शाहरुख खान भलै ‘लाल सिंह चड्डा’ र ‘ब्रह्मास्त्र’ जस्ता फिल्ममा केमियो भूमिकामा देखिएका हुन। उनका फ्यान प्रमुख भूमिका रहेको फिल्मको व्यग्र प्रतीक्षामा छन् । शाहरुख सन् २०१८ पछि कुनै पनि फिल्ममा प्रमुख भूमिकामा देखिएका छैनन् । सन् २०२३ मा उनका तीन फिल्म रिलिज हुँदैछन् । जसमध्ये फिल्म ‘पठान’ जनवरीमा रिलिज हुँदैछ । तर, यो फिल्म रिलिज हुनुअघि नै यसका निर्माताले सिक्वेल बनाउने तयारी सुरु गरेका छन् ।

फिल्मका निर्माता आदित्य चोपडा र उनको टिम यो एक्सन थ्रिलर फिल्मलाई सलमान खानको ‘टाइगर’ प्रेञ्चाइजीकै जस्तो गरी अगाडि लैजाने योजनामा छन् । त्यसकारण उनीहरू यसको सिक्वेल बनाउने औपचारिक निष्कर्षमा पुगेका हुन् । पहिलो फिल्मको तुलनामा सिक्वेलमा अझ नयाँ भूमिका जोडिनेछ । फिल्मको टिमले ‘पठान’ को सिक्वेल लेखन कार्य सुरु गरेको बताएको छ । फिल्म ‘टाइगर’ को फ्रेञ्चाइजीजस्तै यो फिल्मको कथा पनि भारत बाहिर देश पुर्‍याउने योजना निर्माण पक्षको छ ।

सिद्धार्थ आनन्दको निर्देशनमा बनेको फिल्म ‘पठान’ मा शाहरुख एक स्पाइको भूमिकामा छन् । फिल्ममा दीपिका पादुकोण र जोन अब्राहमको पनि अभिनय हेर्न पाइनेछ ।

 


Recommended For You