चिराइतोको मूल्य बढेपछि फक्ताङलुङ गाउँपालिकाका किसान मक्ख

पाप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाका किसान चिराइतोले राम्रो मूल्य पाएपछि उत्साहित भएक छन् । कोरोनापछि घट्दो क्रममा रहेको चिराइतोको बजार मूल्य यसपटक भने बढ्न थालेको छ । कोरोना महामारीअघि ताप्लेजुङ, पाँचथर, इलाम, तेरथुम, सङ्खरसभा भोजपुरलगायत जिल्लामा उत्पादन भएको चिराइतो टिप्पताला नाका हुँदै चिनियाँ बजारमा निर्यात हुन्थ्यो । टिप्पताला नाकासम्म हेलिकोप्टरबाट चिराइतो ढुवानी हुन्थ्यो । कोरोना महामारीमा उक्त नाका बन्द भएपछि चिराइतोको कारोबार ठप्प बनेको हो ।

रूचार वर्षपछि अहिले चिराइतोले राम्रो बजार मूल्य पाएको छ । ‘व्यवसायी गोविन्द बरालले भने, ‘चार वर्षअघि प्रतिमन पाँच हजारमा झरेको चिराइतोको भाउ अहिले ३० हजारसम्म खरिदबिक्री भइरहेको छ ।’ उनका अनुसार पछिल्लो समय भारतीय बजारमा चिराइतोको माग बढ्न थालेको छ । मूल्य बढेसँगै व्यवसायी चिराइतो सङ्कलन गर्न गाउँगाउँ पुग्न थालेका छन् । चिराइतो खोजी गर्दै गाउँगाउँमा व्यापारी आएसँगै किसान फेरि चिराइतो खेतीमा फर्कन थालेका छन् । कोरोनाका कारण नाका बन्द हुँदा घरमै थन्क्याएर राखेको चिराइतो अहिले धमाधम बिक्री हुन थालेको छ ।

हिमाली भेगमा मात्र उत्पादन हुने चिराइतो पाखा बारीमा बीउ लगाएपछि करिब ३० महिनापछि बिक्रीयोग्य हुने फक्ताङलुङ गाउँपालिका ४ इखाबुका चिराइतो किसान धनबहादुर लिम्बूले बताए । गाउँघरमा ज्वरो तथा रुघाखोकीका बिरामीलाई चिराइतो खुवाउने चलन छ । आर्थिक वर्ष २०७८/८९ मा पाँच हजार आठ सय केजी चिराइतो सङ्कलन भएको डिभिजन वन कार्यालय ताप्लेजुङ निमित्त प्रमुख एवं सहायक डिभिजन वन अधिकृत बद्रीप्रसाद शाहले बताए । छुट पुर्जीका लागि प्रतिकेजी १५ राजस्व जम्मा गर्नुपर्छ । पाँच हजार आठ सय केजी चिराइतो सङ्कलन हुँदा ८७ हजार राजस्व जम्मा भएको डिभिजन वन कार्यालय ताप्लेजुङले जनाएको छ । वन कार्यालयको तथ्याङ्कअनुसार ताप्लेजुङमा आर्थिक वर्ष २०७७/७८ मा १६ हजार तीन सय केजी चिराइतो सङ्कलनबाट दुई लाख ४४ हजार पाँच सय बढी राजस्व सङ्कलन भएको छ । जिल्लामा वार्षिक ३५ हजार केजीसम्म चिराइतो उत्पादन हुने गरेको छ ।

Recommended For You