प्रहरी महानिरीक्षक सिंहद्वारा आवश्यकता र कानुनसम्मत बल प्रयोग गर्न निर्देशन

काठमाडौं । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले कुनै पनि अपराधका घटना हुन नदिन प्रभावकारी रूपमा प्रहरी परिचालन गर्नुका साथै अझै बढी सक्रिय भई आ–आफ्नो जिम्मेवारी बहन गर्दै कार्यसम्पादन गर्नुपर्ने बताएका छन् ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी एवं सोही कार्यालयअन्तर्गतका प्रहरी कार्यालयका प्रमुखहरूलाई बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा निर्देशन दिँदै प्रहरी महानिरीक्षक सिंहले आम नागरिकलाई राज्यको उपस्थितिको अनुभूति दिने संस्था भनेको प्रहरी नै भएको बताउँदै सोहीअनुसार काम गर्न निर्देशन दिएका हुन् ।

‘हालैका घटनाको समीक्षा गर्दै आगामी दिनमा हुन सक्ने घटनाको पूर्वानुमान गरी तयारी हालतमा रहन र आवश्यकता अनुरूप कानुनसम्मत तरिकाले बल प्रयोग गर्न नहिच्किचाउनु,’ उनले भने । घटनालाई गम्भीरताका साथ लिएर संलग्नको पहिचान गरी कानुनी दायरामा ल्याउनसमेत उनले निर्देशन दिए ।

प्रहरी महानिरीक्षक सिंहले ट्राफिक चेकजाँचलाई अझ व्यवस्थित गराउनुपर्ने उल्लेख गर्दै आर्थिक पारदर्शितामा शून्य सहनशीलताको नीतिलाई अवलम्बन गरी सबै प्रहरी कर्मचारीले अत्यन्तै व्यावसायिक भएर जिम्मेवारी बहन गर्नुपर्ने बताए ।फरार अभियुक्त पक्राउलाई अभियानकै रूपमा सञ्चालन गर्नुपर्ने तथा अपराध अनुसन्धानमा अझ बढी केन्द्रित र गम्भीर भएर कार्य गर्नुपर्नेसमेत उनले बताए ।


Recommended For You