नुवाकोट । नुवाकोट र रसुवामा जारी रहेको पिपिआर खोप अभियानमा करिब तीन लाख भेडाबाख्रालाई खोप लगाइने भएको छ ।
नुवाकोट र रसुवा कार्यक्षेत्र रहेको भेटेरिनरी अस्पताल तथा पशुु सेवा विज्ञ केन्द्र नुवाकोटले यही फागुन ७ गतेसम्म सञ्चालन गर्ने खोप कार्यक्रममा आफूले पालन गरेका भेडाबाख्रालाई पिपिआर (हैजा) रोगविरुद्धको खोप कार्यक्रममा सहभागी गराउन केन्द्र प्रमुख भरत पाण्डेले किसानलाई आग्रह गरे ।उनका अनुसार नुवाकोटका दुई लाख ३५ हजार र रसुवाका ३१ हजार भेडाबाख्रालाई खोप लगाउन दुई जिल्लामा रहेका १७ स्थानीय तहका पशुसेवा शाखा प्रमुखको समन्वयमा ६० जना भ्याक्सिनेटर (खोपकर्ता) परिचालन गरिएको छ ।
‘अभियानका क्रममा भेडाबाख्राको खोरमा नै पुगेर खोप लगाउन भ्याक्सिनेटर खटाइएको छ’, केन्द्र प्रमुख पाण्डेले भने, ‘थोरै सङ्ख्यामा पालन गर्ने किसानका लागि तोकिएको केन्द्रसम्म ल्याउन अनुरोध गरिएको छ, कम्तीमा २० सम्म भेडाबाख्रा पालन गर्ने किसानको खोरमा नै पुगेर खोप लगाउने व्यवस्था मिलाएका छौँ ।’ भेडाबाख्रामा देखिने श्वासप्रश्वासको समस्या समाधानका लागि पिपिआर रोग विरुद्धको खोप दिन थालिएकाले सबै किसानलाई सहभागी हुन र गराउन खोप कार्यक्रम अभियानका रूपमा एकैसाथ सबै स्थानमा सञ्चालनमा ल्याइएको विज्ञ केन्द्र नुवाकोटका पशु चिकित्सक डा. बब्लु ठाकुरले जानकारी दिए । उहाँका अनुसार भेडाबाख्रामा महामारीका रूपमा फैलने र प्राणघातक मानिएको पिपिआर रोगको उपचारसमेत सम्भव नहँुदा रोगबाट बचाउन खोप लगाउनु नै एक मात्रै उपाय मानिने गरिएको छ ।
यो रोग लागेमा चौबिस घण्टादेखि एक साताभित्र प्राणसमेत जाने भएकाले किसानलाई पशुधनको रक्षा गर्न, पशुपालन पेसामा टिकाइराख्न र व्यावसायिक रूपमा निरन्तरता दिने वातावरण सुनिश्चित गर्न भेटेरिनरी अस्पताल तथा पशुु सेवा विज्ञ केन्द्रले खोप कार्यक्रम सञ्चालनमा ल्याएको हो । उक्त कार्यक्रम बागमती प्रदेश सरकार, कृषि तथा पशुपक्षी विकास मन्त्रालयले अभियानका रूपमा प्रदेशका सबै जिल्लामा सञ्चालन भइरहेको जनाएको छ ।