विदेशको रोजगारी छोडेर स्वदेशमा च्याउ खेती, वार्षिक वर्ष ५० लाख आम्दानी

मोरङ । मोरङ बेलबारी नगरपालिका–९ डाँगिहाटका किसान विवेक बोगटी बिहान ३ बजेदेखि च्याउ टिप्न व्यस्त भेटिन्छन् । विदेशमा मजदुरी छोडेर स्वदेशमै उद्यमी बन्ने चाहनाले विगत पाँच वर्षयता उनी च्याउ उत्पादनमा लागेका छन् । विदेशको जागिर छाडेर स्वदेशमै पसिना बगाउने उद्देश्यले सुरु भएको यो व्यवसायबाट उनले यस वर्ष मात्रै करिब ५० लाख आम्दानीको लक्ष्य लिएका छन् । तीन वर्ष मलेसिया बस्दा कमाएको करिब एक लाख ५० हजार लगानी गरी उनले मेहनती मसरुम कृषि फर्म सुरु गरेका थिए । हाल कम्पनीमा एक करोडभन्दा बढी लगानी भइसकेको उनको भनाइ छ ।

तीन कठ्ठा क्षेत्रफलमा तीनवटा प्लाष्टिकका टनेलमार्फत सुरु गरिएको च्याउखेती हाल हाल चारवटा पक्की घर बनिसकेका छन् भने थप तीनवटा बन्ने क्रममा छन् । च्याउ उत्पादन हुने पक्की घर ५० फिट लम्बाइ र २२ फिट चौडाइका छन् । एउटा घरमा एक हजार दुई सय ६५ वटा च्याउका पोका रहने र ती पोकामा राम्रो भएमा दुई महिनासम्म निरन्तर उत्पादन हुने बोगटीको भनाइ छ ।

वार्षिक तीन लट उत्पादन हुने र प्रत्येक लटमा करिब १० देखि १५ लाखसम्म आम्दानी हुने बोगटीको दाबी छ । गर्मीभन्दा जाडो मौसममा उत्पादन राम्रो हुने भन्दै उनले हाल दैनिक नौ सय किलोसम्म उत्पादन भएको जानकारी दिए । उत्पादित च्याउ बिक्रीमा कुनै समस्या नभएको उनको भनाइ छ । हाल थोकमा एक सय ५० का दरले च्याउ बिक्री भइरहेको उनले जानकारी दिए । उत्पादन गरिएको च्याउ हरेक बिहान ४ बजेसम्म इटहरी पुर्‍याई सक्नुपर्ने र ७ बजे सम्ममा विराटनगर र धरानसम्म पुर्‍याई सक्नुपर्ने हुन्छ ।

दैनिक रूपमा अटो रिक्साबाट पनि स्थानीय क्षेत्रमा पुर्‍याउन समस्या हुन थालेपछि अब आफै पिकअप भ्यान खरिद गर्ने योजना बनाएका छन् । उनले हाल फर्ममा स्थानीय पाँच जनालाई दैनिक ज्यालादारीमा रोजगारी दिएकन छन् भने आगामी दिनमा थप रोजगारी सिर्जना गर्ने योजना बनाएका छन् ।
‘वैदेशिक रोजगारी छाडेर उद्यमी बन्न चाहने युवालाई बैंकहरूले सरल कर्जा दिन्छ भन्ने सुनेर विराटचोकस्थित कृषि विकास बैंकमा पटक–पटक जाँदा पनि बैंकले कुनै वास्ता गरेन, त्यसपछि जानै छाडे’, उनले गुनासो गरे ।

Recommended For You