काठमाडौं । महजोडी अभिनीत चलचित्र ‘महापुरुष’ को ट्रेलर सार्वजनिक भएको छ । सोमबार दिउँसो ४ बजे केन्द्र मोसन पिक्चर्सको युट्युब च्यानलबाट ट्रेलर सार्वजनिक भएको हो ।
‘महापुरुष’ मा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको लिड रोल छ । ट्रेलरमा बाबु र सन्तानबीचको भावनात्मक सम्बन्ध तथा प्रौढ प्रेमलाई मर्मस्पर्शी ढंगले देखाइएको छ ।
प्रदीप भट्टराई निर्देशित महापुरुषको ट्रेलरले नै चलचित्र पारिवारिक र सामाजिक विषयवस्तुमा आधारित रहेको स्पष्ट पार्छ । अभिनेता आचार्य र अभिनेत्री गौरी मल्ल तथा मदनकृष्ण श्रेष्ठ, राजाराम पौडेल, रवीन्द्रसिंह बानियाँ, अरुण श्रेत्री, अञ्जना बराइली प्रभावकारी देखिएका छन् ।
सार्वजनिक ट्रेलरमा फिल्मको कथासार स्पष्ट पारिएको छ । दुई परिवारको कथा ट्रेलरमा देखाइएको छ । दुई उमेर समूहको प्रेमभावसमेत टेलरमा देख्न सकिन्छ ।
