मनाङ । हिमाली जिल्ला मनाङमा ढिला गरी हिमपात भए पनि किसान हर्षितभएका छन् । ङिस्याङ गाउँपालिका–१ पिसाङका ७४ वर्षीय किसान याङदुङ गुरुङले ढिलै गरी भएको हिमपातले आलु र करुको उत्पादन बढ्न सक्ने बताए । ‘यहाँको मुख्यबाली आलु र करु हो । चैत, वैशाखमा लगाइने यी बालीलाई पुसमा हिउँ पर्नुपर्छ । यसपटक ढिला गरी पर्यो, माटो राम्ररी नभिजे पनि सुक्खापन केही कम हुन्छ’, उनले भने, ‘जमिन तातिएपछि हिमपात हुँदा हिउँको पानी जमिनमुनि नपुग्दै माथि नै सुक्छ । चिस्यान नभए खेतीबालीलाई पुग्दैन, उत्पादन घट्छ, तर पनि केही मात्रामा हिमपात हुँदा पनि हामी खुसी भएका छौँ ।’
जिल्लामा जेठमा फापर, चैततिर गहुँ, आलु र केराउ लगाइन्छ । ‘पुसमा हिउँ परेको भए जमिनमुनिसम्म पानीको मात्रा पुग्छ । अहिले समयमा हिउँ खेतीबाली के राम्रो होला खै ? तापक्रम बढेपछि परेको हिउँ पग्लिएर माथि–माथि नै सुक्छ । बारीमा लगाएको बालीको जरासम्म पुग्दैन’, किसान गुरुङले भने । कार्यवाहक प्रमुख जिल्ला अधिकारी शिशिर घिमिरेले जिल्लामा फागुनको तेस्रो साता लागेपछि मात्रै केही मात्रामा हिमपात हुन सुरु भएको जानकारी दिए । यसबाट किसानलाई केही राहत मिलेको बताए ।
