सभामुखद्वारा नवनिर्वाचित राष्ट्रपतिलाई बधाई ज्ञापन

सभामुख देवराज घिमिरेले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई आज बिहान उहाँकै निवासमा पुगेर बधाई ज्ञापन गरेका छन । मुलुककको राष्ट्राध्यक्षमा निर्वाचित भएकामा पौडेललाई सफल कार्यकालका लागि सभामुख घिमिरेले शुभकामनाका साथ बधाई ज्ञापन गरेका छन । नौ दलीय गठबन्धनको साझा उम्मेदवारका रूपमा नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेल बिहीबार भएको निर्वाचनमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएका थिए ।

 

सभामुख घिमिरेले बहराइनमा शनिबारदेखि हुने अन्तर व्यवस्थापिका सङ्घको एक सय ४६औँ बैठकमा भाग लिन आफू आज त्यसतर्फ जान लागेको पनि सो अवसरमा नवनिर्वाचित राष्ट्रपति पौडेललाई जानकारी गराए । उक्त बैठकमा जाने कार्यक्रम यसअघि नै निर्धारण भइसकेकाले नवनिर्वाचित राष्ट्रपति पौडेलको शपथ कार्यक्रममा सहभागी हुन नपाउने व्यहोरासमेत सभामुख घिमिरेले जानकारी गराएको उहाँका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए । सो अवसरमा नवनिर्वाचित राष्ट्रपति पौडेलले उक्त बैठकका लागि नेपालका तर्फबाट सफलताको शुभकामना व्यक्त गरेका थिए ।


Recommended For You