मोरङ । बचतकर्ताको रकम ठगी गरेको आरोपमा तुलसी बहुमुखी बहुउद्देश्य सहकारी संस्था लिमिटेड विराटनगरका तीन सञ्चालक पक्राउ परेका छन् । उनीहरूलाई बचतकर्ताको १२ करोड ९ लाख ठगीको आरोप लागेको थियो । जिल्ला प्रहरी कार्यालय मोरङले पत्रकार सम्मेलन गरी पक्राउ परेका सहकारीका उपाध्यक्ष मोरङ उर्लावारी नगरपालिका–६ का अनिता गौतम, सचिव झापा भद्रपुर नगरपालिका–१४ का सविना न्यौपाने र क्षेत्रीय प्रबन्धक विराटनगर–२ का मन्दीप खवास छन् ।
सञ्चालकहरू बचतकर्ताको रकम फिर्ता नगरी यही १ फागुनदेखि सम्पर्कविहीन भएका थिए । फरार सञ्चालकविरुद्ध सहकारीका एक सय २१ जना बचतकर्ताले २८ फागुनमा जिल्ला प्रहरी कार्यालयमा लिखित उजुरी थिए । सोही आधारमा उनीहरूलाई पक्राउ गरिएको कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दीपक पोखरेलले जानकारी दिए । मुख्य कार्यालय विराटनगर रहेको सहकारीको झापाको दमक, उदयपुरको गाईघाट र सिरहाको गोलबजारमा गरी तीन वटा सेवा केन्द्रमा गरी २१ हजार सात सय १३ सदस्यमध्ये विराटनगरमा मात्र चार हजार रहेका छन् ।
सहकारीले सबै सेवा केन्द्रमा गरी करिब एक अर्ब ५० करोड रकम बचतकर्तालाई फिर्ता गर्नुपर्ने प्रहरीको अनुमान छ । संस्थाका अध्यक्ष केदारनाथ शर्मासहित पाँच जना अझै फरार रहेकाले खोजी जारी रहेको प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा सञ्चालकले योजनाबद्ध तरिकाले ठूलो रकम हिनामिना गरी सहकारीका सदस्य एवं बचतकर्तालाई गठी गरेको देखिन आएको छ ।
