वचनदेव स्थानीय जातका १ सय गाईपालनबाट मनग्य आम्दानी गर्दै

महोत्तरी । बर्दिवास नगरपालिका–७ जुरेटोलका किसान वचनदेव यादवले स्थानीय जातका एक सय गाई पालेका छन् । यादवलाई ‘ल न अब चैँ मेरो बारीमा गाई ओलार (मलको प्रयोजनका लागि बारीमा चारैतिर ढाट लगाएर गाई राख्ने) राखी दिनु’ भन्दै किसानहरू आउँछन् । यादवको वर्षको आधा समय त विभिन्न गाउँ बस्तीमा गाई डुलाएर बित्छ ।

‘स–साना बाच्छाबाच्छीसहित गोठमा पुगनपुग एक सय गाई छन्, जिल्लाकै सुदूरदक्षिणी भेग र छिमेकी जिल्ला सर्लाहीका विभिन्न बस्तीबाट मलकै लागि गाई ओलार राखी दिन थुप्रै किसान भन्न आउँछन्’, वचनदेव भन्छन्, ‘सघन वर्षाका महिनाबाहेक अरू बेला त ठाउँठाउँमा डुलेरै बित्छ ।’ यसरी गाई ओलार राख्न लगिँदा गोठालाको खाना र फुटकर खर्च खेतधनी किसानले दिने भएपछि थप खर्च गर्नु नपर्ने उनले बताए । त्यसरी गाई अन्यत्र लगिँदा चरनका लागि घाँस प्रशस्त भएको ठाउँ छान्ने गरिएको वचनदेवको भनाइ छ । बाबुबाजेले गर्दै आएका पुख्र्यौली गाईपालनको परम्परा थेगेको बताए ।
स्थानीय जातका गाईको दूध स्वाद र गुणमा पनि उत्कृष्ट मानिने भएकाले बजारको समस्या पनि नभएको र मूल्य पनि राम्रो पाइने उनले बताए ।

मधेसमा गाईपालनका लागि कहलिएका यादव (अहिर) समुदायका पाका व्यक्ति आपूmहरू द्वापर युगकालीन मथुरा (हाल भारतको उत्तरप्रदेश) राज्यको गोकुलका महासामन्त (गोकूल रजौटाका राजा) नन्दलालका वंशज बताउँछन् । ‘हामी नन्द माहाराजकै ‘गोप’ वंशका हौँ, गाईपालन हाम्रो वंश परम्परा मानिँदै आएको हो’, जुरे टोलका ६५ वर्षीय जागेश्वर यादवले भने, ‘हामी त्यही परम्परा अझै थेग्दै छौँ ।’ जागेश्वरका गोठमा पनि करिब ६०/७० स्थानीय जातका गाई छन् । गाईले बाछा पाए दुई वर्षका बहर (जोत्न उमेर पुगेका वयस्क बाछा) भएपछि राम्रो मूल्यमा बिक्री हुने उनले बताए ।

गाईपालनले दूध, मल बेचेर वर्षभरि घरखर्च टार्नुका साथै केही वचत हुने गरेको वचनदेवले बताए । बस्ती ओरपरका किसानले आफ्नो भकारो (मल थुपारेको ठाउँ) बाटै बर्सेनि किनेर लाने मलबाटै पनि राम्रो आम्दानी हुने गरेको वचनदेव र जागेश्वरले बताए ।चार दशक पहिलेसम्म यादव समुदायमा अधिकांशका गोठमा गाईको सङ्ख्या उल्लेख्य हुन्थ्यो । शिक्षाको पहुँचले गर्दा कृषि पेसामा जनशक्तिको अभाव, कामको विविधता, चरन क्षेत्रको कमीलगायतका कारणले गर्दा यादवका गोठमा गाई देखिन छाडेका छन् ।

परम्परागत गाईपालनमा चरन क्षेत्र खुम्चँदै जानु मुख्य चुनौती रहेको वचनदेवले बताए । उनले आफ्ना सन्तानले गाई पाली नबस्ने बताए । बस्तीमा वचनदेव र जागेश्वरको गोठले अन्य धेरैको धर्मकर्म, परम्परा थेगेको जुरेटोलका अन्य समुदाय बताउँछन् । ‘हाम्रो धार्मिक परम्परामा घर चोख्याउन गाईको गोबरले लिप्ने चलन छ, शुभकार्य र पितृकार्यमा गाईकै दूध चाहिन्छ, स–साना नानीलाई आमाको दूध अपुग हुँदा गाईकै दूध ख्वाइन्छ’, जुरेटोलका सामाजिक कार्यकर्ता धनसिंह क्याप्छाकीले भने, ‘हाम्रो बस्ती मात्र नभएर वरपरका अन्य बस्तीलाई पनि यो आवश्यकता वचनदेव र जागेश्वरकै गोठले धानेको छ ।’ यसबाहेक दानपुण्यका लागि ‘गाईदान’ परम्परा थेग्न र खेतबारीमा मल हाल्न पनि यी दुवैका गोठकै भर रहेको जुरेटोलवासी बताउँछन् ।


Recommended For You