काठमाडौं । कृषि क्षेत्रमा दिइएको अनुदान कटौती गरी रासायनिक मल र दूधको मूल्यवृद्धि गरिएकामा सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकको शून्य समयमा सांसद भानुभक्त जोशीले गत वर्षको बेमौसमी वर्षाले बझाङमा एकै परिवारका सात जनाको निधन भई प्रधानमन्त्री, गृहमन्त्रीलगायतले अवलोकन गरी बाढी प्रभावित क्षेत्र घोषणा गरे पनि अझै राहतलगायत व्यवस्था नभएकाले छिटो गर्न माग गरे ।
सांसद महेश बर्तौलाले मलमा दिएको अनुदान कटौती गर्दा किसानमाथि ज्यादती भएको, सुकुम्बासीले लामो समयदेखि जग्गाधनी पुर्जा पाउन नसकेकाले सरकारको ध्यान जानुपर्ने बताए । सांसद माधव सापकोटाले सिन्धुपाल्चोक जिल्लाको जुरेमा २०७१ साउनमा गएको पहिरो पीडितलाई सङ्कलन भएको दुई करोडभन्दा बढी राहत वितरण नगरी राखिएकाले छिटो दिन सरकारको ध्यानाकर्षण गराए ।
