‘नालापानी’ लाई कर छुट दिन चलचित्र विकास बोर्डको पहल

काठमाडौं । ऐतिहासिक विषयवस्तुमा बनेको नेपाली चलचित्र ‘नालापानी’लाई कर छुट दिन पहल सुरु भएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले आफूले यो चलचित्रलाई कर छुट प्रदान गर्न पहल सुरु गरेको बताए ।

‘सञ्चार सचिव डा. बैकुण्ठ अर्यालसँगको भेटमा नालापानीलाई कर छुट प्रदान गर्ने व्यवस्था मिलाउन अनुरोध गरेको छु । सचिवले तुरुन्तै अर्थ मन्त्रालयमा पत्राचार गर्नुभएको छ,’ केसीले भने, ‘नेपालको गौरवगाथा बोकेको यो चलचित्र नेपालको ऐतिहासिक विषयमा बनेको हुँदा र चलचित्र विकास बोर्डले विशेष चलचित्र घोषणा गरी राष्ट्रपतिबाट सम्मान प्राप्त गरिसकेकाले पनि कर छुटको लागि योग्य छ भनेर मैले पहल सुरु गरेको हुँ ।’

नालापानीका निर्माता तथा निर्देशक रिमेश अधिकारीले ढिलै भए पनि राज्यले सुविधा दिन खोजेकोमा खुसी व्यक्त गरे।
सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अंग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाइँलाई आधार बनाएर ‘नालापानी’ निर्माण भएको छ।


Recommended For You