कास्की । कास्की जिल्लामा पशु चौपायामा लागू गरिएको खोप कार्यक्रम प्रभावकारी बनेको छ । पशुमा लाग्ने रोग सङ्क्रमण नियन्त्रण गर्ने उद्देश्यका साथ गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७ देखि पूर्णखोप लगाउने व्यवस्था गरेकामा हालसम्म विभिन्न क्षेत्रमा गरी दुई लाख १८ हजार सात सय खोप लगाइएको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीका प्रमुख डा. शम्भुराज पाण्डेका अनुसार गत वर्ष मात्र गाई, भैँसी र बङ्गुरमा मात्र ९४ हजार चार सय एक खोप लगाइएको थियो । गाई–भैँसीमा नै हुने अर्को भ्यागुुते र चरचरे गरी २६ हजार तीन सय ७१ खोप लगाइएको थियो भने बङ्गुरका स्वाइनफिबरका लागि करिब १५ हजार खोप लगाइएको थियो ।
त्यस्तै, भेडाबाख्रामा हुने पिपिआर रोग नियन्त्रणका लागि झन्डै ७७ हजार र रेबिजविरुद्धमा ६१ हजारभन्दा बढी खोप लगाइएको डा. पाण्डेले जानकारी दिए । खोप लगाउनका लागि गाउँ–गाउँमा किसान सचेत कार्यक्रम भइरहेको र स्वत:स्फुर्त माग पनि बढिरहेको उनले बताए । खोपको बारेमा हेम्जा गाई फार्मका सञ्चालक एवं किसान घनश्याम तिमिल्सिनाले खोप प्रभावकारी रहेकाले खोरेतको दुईपटक र अन्य खोप एकपटक लगाउने नीति सरकारले अगाडि बढाउनुपर्ने बताए ।
कार्यालयका पशु विकास अधिकृत सहदेव पौडेलले पशुधनको क्षति न्यूनीकरण हुने र राष्ट्रिय उत्पादनमा टेवा पुग्ने बताउँदै यस वर्षको पूर्णखोप कार्यक्रम पोखरा महानगरपालिकाबाट सुरु भइसकेको र अन्य गाउँपालिकामा किसानलाई अभिमुखीकरण गरिएको जानकारी दिए । भेडाबाख्राका लागि पिपिआर खोप चलिरहेको र महानगरपालिकाबाट प्राविधिक जनशक्ति अन्य पालिकामा पुगेपछि सबै किसिमका खोप गाउँपालिकामा पुर्याउने उनको भनाइ छ । पूर्णखोप कार्यक्रमले पशुवस्तुमा हुने क्षति न्यूनीकरण गरेको अर्का किसान शोभाखर भण्डारीले जानकारी दिए ।
