इनरुवा । जिल्लाका दुग्ध उत्पादन गर्ने किसानलाई प्रतिलिटर दुईका दरले अनुदान प्रदान गरेको छ । स्थानीय तथा ग्रामीण क्षेत्रमा भैँसी तथा गाईपालन गरेर दूध उत्पादन गर्दै आएका किसानलाई प्रोत्साहन र उत्पादन वृद्धिका लागि दूधमा प्रतिलिटर दुईका दरले अनुदान रकम प्रदान गरिएको हो । शुक्रबार नवयुग दुग्ध सङ्कलन तथा वितरण केन्द्र इनरुवा–५ बलाहामा कोसी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौलाको हातबाट किसानलाई अनुदान रकम प्रदान गरिएको छ ।
डेरीमा प्राप्त दूधको विवरणानुसार अनुदान रकम प्रदान गरिएको नवयुग दुग्ध सङ्कलन तथा वितरण केन्द्रका सञ्चालक गोविन्द पोखरेलले जानकारी दिए । केन्द्रमा दूध दिने दुई सय किसानलाई अनुदान रकम हस्तान्तरण गरिएको उनले बताए । ग्रामीण क्षेत्रमा भँैसी तथा गाईपालन गरेर दूध उत्पादन गर्दै आएका किसानलाई प्रोत्साहन र उत्पादन वृद्धिका लागि प्रदेश सरकारले चालू आवमा १२ करोड ५० लाख रकम अनुदानका लागि विनियोजन गरेको छ ।
कोसी प्रदेशका झापा, मोरङ, सुनसरी, तेह्रथुम, धनकुटा र इलामका चिस्यान केन्द्र, डेरी तथा सहकारीका माध्यमबाट किसानलाई अनुदान दिइने कार्यक्रम रहेको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयका प्रमुख सचिव मेघनाथ तिमिल्सिानाले बताए । जिल्लाका भेटेरिनरी अस्पतालबाट सूचना नै जारी गरेर दूध सङ्कलन गर्ने संस्थासँग आवेदन माग गरेको र आवेदनबाट सुनसरीको हकमा १८ संस्था छनोटमा परेकाले सोही संस्थामार्फत किसानको तथ्याङ्क सङ्कलन गरेर उनीहरूलाई अनुदान रकम वितरण गरिएको जानकारी दिए ।
