सत्ताको धुरीमा मृदुभाषी काग !

एकादेशको कुरा हो
ऊ निमुखाहरुको सहरमै फर्फराउँथ्यो
बाक्ला वस्तीहरुको छाना छानामा बास्थ्यो
उरन्भुठेउला भुराहरु झुत खेल्थे उस्कापछि
त्यो काग मृदुभाषी थियो
अरु कागहरुभन्दा भिन्न जस्तो लाग्थ्यो।
हो पनि त्यो विशेष लाग्थ्यो ।

ऊ सहर पसेका चितुवाहरुको जस्तै आवाज निकाल्थ्यो ।
सहरका ब्वाँसाहरूको पनि आवाज निकाल्थ्यो ।
उसको पछि दौडिए उत्ताउला छौँडाहरू
आफ्नो घर आँगनमा आगजनी गरे
ओर्याईँ त कति कति
तिनले सनातन संस्कृति विकृत बनाए
तिनले वीर साँधे
प्रेत जगाए
आफ्नै सभ्यतामा आगो लगाए ।

काग सत्ताको धुरी चढ्यो
चितुवाहरु साकाहारी हुन थाले
ब्वाँसाहरू चितुवा जस्ता देखिन थाले
काग चितुवा र ब्वाँसाहरूलाई उछिनेर गाउँन थाल्यो ।
गरिबका गीत
मुङ्ग्लानेको कथा
विकृतिका गाथा
उढाउन थाल्यो इतिहासको धज्जी
निकै बाठो छ त्यो
सहरी हुरीबताससँग लय मिलाउन थाल्यो ।
समाज त्यतै कुदिरहेको छ।

समाज भाँडमा जावस्
सभ्यता पुरियोस्
असंस्कृति झांगियोस्
उस्लाई छु मतलब !!!
बालै छैन ।
समाधान त विचरासँग छँदै छैन
रत्तिभर छैन ।

फेरि सत्ताकै धुरीमा चढेर गाना गाइरहेको छ।
उही पुरानो गीत
मुङ्ग्लानेको गीत,समृद्धिको गीत
अब उसलाई सत्ताको मझेरीमा बस्ने मन छ
चुल्होमै पुग्न मन छ
बाउको पिर्कामा बसेर
काँसको थालमा बिष्ट्याउन मन छ ।

यसको अभिलाषा खराब छ
टाउका टाउकामा बिस्ट्याउने
अनि सहरमा अशुभ नै अशुभ !!
अब विल्कुलै झुक्किनु हुन्न
यो पनि अरु काग जस्तै काग हो
सत्ताको धुरीमा मृदुभाषी काग !
जय नेपाल ! जय नेपाल !! जय नेपाल !!!

Recommended For You