शिक्षामा सीप कार्यक्रमले हाम्रो आत्मबल बढाएको छ : विद्यार्थीहरू

शिक्षामा सीप कार्यक्रमले आफ्नो आत्मबल बढाएको रत्नराज्य माध्यमिक विद्यालयका विद्यार्थीहरूले बताएका छन् ।

शिक्षामा सीप अन्तर्गत ब्युटिसियन कक्षा लिइरहेकी छात्रा समीक्षा अधिकारी भन्छिन्, ”अरूमा निर्भर नभई आफैँले केही गर्न सकिन्छ भन्ने आत्मविश्वास बढेको छ ।” ब्युटिसियन भनेको बाहिरी सुन्दरता मात्र हो भन्ने लाग्थ्यो तर त्यो मात्र होइन रहेछ, यसले त भित्री आत्मबल बढाउने पनि रहेछ समीक्षाको भनाइ थियो । छात्रा चाँदनी कुमारीको बुझाइ पनि त्यस्तै छ । उनी भन्छिन्, ”एसइइ सकिएपछि बाहिर जाने धेरै भेटिन्छन् तर मलाई त यहीँ व्यवसाय गर्न सकिन्छ भन्ने लाग्छ । अहिले ब्युटिसियन तालिम लिएकी छु, पछि यसैसँग सम्बन्धित अन्य काम पनि गर्न सकिन्छ जस्तो लाग्छ ।”

रत्नराज्य स्कुलमै हाउस वाइरिङको तालिम लिएका छात्र मुनाल सिं भन्छन्, ” हामीले लेआउट डायग्राम, वाइरिङ डायग्राम सिकिसक्यौँ । तार मेजर गर्न पनि सिक्यौँ यहाँ सिकेको कुरा घरका भित्ताहरूमा पनि हेर्न मन लाग्छ । यसले घरभित्र नै धेरै काम गर्नुपर्ने रहेछ भन्ने बोध गराएको छ ।” हाउस वाइरिङकै अर्का छात्र धीरज राम भन्छन्,” तारको माइनस् प्लस थाहा पाइयो , अर्थिङको बारेमा पनि बुझ्न सकेका छौँ । सिम्बलहररू ( डेन्जर, बल्ब, फ्युज) का साथै सामानहरू, मिटरबक्सको बारेमा जानकारी पाइएको छ । कोर्स पूरा भएपछि घरका सानासाना काम गर्छौँ भन्ने लाग्छ ।”

हाउस वाइरिङका प्रशिक्षक सुजित खनालले कोर्स पूरा भएपछि घरमा साना साना सामान बिग्रिँदा त्यसको मूल्य विद्यार्थीहरूले थाहा पाउँनेछन् र आफैँ रिपेरिङ गर्न सक्छन् । यसबाट घरमा थोरै भए पनि बचत हुने बताउनुभयो । उहाँले अभिभावकका अगाडि काम गरेको देखिने भयो जसले विद्यार्थीको आत्मबल पनि बढ्ने उहाँको भनाइ हो ।

त्यस्तै ब्युटिसियन प्रशिक्षक सुलोचना श्रेष्ठ भन्नुहुन्छ, ” ब्युटिसियन भनेर केबल सुन्दरता मात्र होइन, यो स्वास्थ्यसँग सम्बन्धित हुन्छ । यो हाइजिनसँग पनि सम्बन्धित भएको सुलोचना श्रेष्ठको भनाइ थियो । उहाँ भन्नुहुन्छ, ” जब सुन्दर भइन्छ तब आत्मबल पनि बढ्छ ।”

विद्यालयका सहायक प्रधानाध्यापक पवित्रा सुवेदीले शिक्षामा सीप कार्यक्रम धेरै राम्रो छ, यसले शिक्षकलाई पनि रचनात्मक बनाएको बताउनुभयो । उहाँले विद्यार्थीलाई अझ उत्प्रेरित गर्न पुरस्कारको पनि व्यवस्था गर्नुपर्ने सुझाव दिनुभयो ।

नि. प्रधानाध्यापक रामाशिष यादव आजभन्दा १० वर्ष अघि नै यो कार्यक्रम लागू गर्नेु पर्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ,” १० वर्षअघि नै यो कार्यक्रम लागू भइदिए आज युवाहरू यसरी विदेश जाँदैनथे ।” ढिलै भए पनि कार्यक्रम शुरू भएको छ, यसलाई सबैले सफल बनाउन लाग्नुपर्छ, प्रधानाध्यापकको भनाइ थियो ।


Recommended For You