गर्मीले तराईको जनजीवन कष्टकर, राहत दिन ध्यानाकर्षण  

सांसदले तराई–मधेसमा केही दिनयता चर्को गर्मीले जीवन कष्टकर भएको जनाउँदै आवश्यक राहतका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद निर्मला कोइरालाले तराई–मधेसका जिल्लामा गर्मीका कारण लु चलेको र जीवन कष्टकर भएको अवस्थामा विद्युत् आपूर्ति नियमित नहुँदा जनजीवन झन् कठिनाइ भएकाले विद्युत् नियमित आपूर्तिका लागि सरकारको ध्यनाकर्षण गराए ।
सांसद प्रदीप पौडेलले देशभर तापक्रम वृद्धि भएर ४४ डिग्री सेल्यिस पुगेको र जनजीवन कष्टकर भएको तथा कृषि क्षेत्रमा असर पुगेको अवस्थामा तत्कालीन र दीर्घकालीन सामाधानका आवश्यक उपायका बारेमा सरकारसँग माग गरे । सांसद नारायणी शर्माले दाङको सीमा नाका क्षेत्रका बासिन्दाका लागि खानेपानी शिक्षा स्वास्थ्यको व्यवस्था गर्न सरकारसँग माग गरे । सांसद निशा डाँगीले बागमतीका नाममा धेरै राजनीति भएको सरसफाइका नाममा करिब  २२ अर्ब खर्च भइसकेको तर अझै प्रभावकारी काम नभएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।
सांसद प्रतिक्षा तिवारीले बागमती अधिकार सम्पन्न समितिलाई बागमती सभ्यता सुधारका  ०।५ प्रतिशत कर रकम उठाइँदै आएको करिब सात अर्बभन्दा बढी रकम जम्मा भइरहेको अवस्थामा त्यसको प्रभावकारी उपयोग गर्न आग्रह गरे । सांसद प्रभु साहले किसानका बालीनाली जङ्गली जनावरले नाश गर्ने गरेको अवस्थामा आवश्यक क्षतिपूर्ति नपाएको जनाउँदै सरकारको ध्यानाकर्षण गराए ।
सांसद प्रेम सुवालले मुलुकका ठूला जलविद्युत् आयोजना निर्माणको जिम्मा विदेशीलाई नदिर्इ नेपाल सरकार आफँैले बनाउनुपर्नेमा सरकारको ध्यानाकर्षण गराए । सांसद वसन्तकुमार नेम्वाङले मुलुभर गाईबस्तुमा महामारी रोग फैलिएको भन्दै रोग नियन्त्रण तथा समाधानका लागि सरकारको ध्यानाकर्षण गराए । सांसद बीना देवीले रौतहटमा रहेको चिनी मिल बन्द भएको जनाउँदै शीघ्र सञ्चालनका लागि माग गरे । सांसद विनिता कठायतले पोर्चुगलमा रहेको नेपालीले नेपाली दूतावास स्थापनाको माग गरेको भन्दै सरकारको ध्यानाकर्षण गराए।

Recommended For You