यसपालि तापक्रमले कहाँ–कहाँ  ‘रेकर्ड ब्रेक’गर्दै  ?

काठमाडौँ । यसपालि नेपालका धेरैजसो स्थानमा अधिकतम तापक्रमले ‘रेकर्ड ब्रेक’ गर्ने देखिएको छ । केही स्थानमा रेकर्ड ब्रेक भइसकेको र अझै तातो हावाको लहर (लु) जारी रहने देखिएकाले थप रेकर्ड ब्रेक हुने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताइन् ।  उनका अनुसार यस वर्ष यही जेठ २४ गतेसम्मको तथ्याङ्कमा सबैभन्दा बढी ४३.८ डिग्री तापक्रम रेकर्ड भएको छ । सन् २०२३ को यो सबैभन्दा बढी मापन हो । यसअघि नेपालमा सन् १९९५ को जुन ५ मा धनगढीमा ४६.४ डिग्री तापक्रम मापन भएको थियो । यो नेपालकै सबैभन्दा बढी मापन हो । यसपालि तराईका जिल्लाका साथै पहाडी क्षेत्रमा पनि विगत केही वर्षको तुलनामा रेकर्ड ब्रेक भएको पाइएको छ ।
नेपालमा जेठ १६ गतेदेखि तापक्रम बढ्न थालेकामा पछिल्ला तीन दिनदेखि भने  तापक्रम ह्वात्तै बढेको छ । यो क्रम तराईका क्षेत्रमा बढी देखिएको छ । अहिले ती क्षेत्रका अधिकांश स्थानमा ४० डिग्रीभन्दा माथि नै तापक्रम रहेको छ । तातो हावाको लहर बढेपछि जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले यही १९ गते पहिलो पटक तातो हावाको लहरसम्बन्धी  विशेष बुलेटिन जारी गरेर जानकारी गराएको थियो । त्यसपछि २४ गते अर्को बुलेटिन जारी गरेर सचेत गराएको थियो । मौसमविद् शान्ति कँडेलले सन् २०२३ को तापक्रम विश्लेणण गर्दा धेरै स्थानमा अधिकतम तापक्रमको ‘रेकर्ड ब्रेक’ भइसकेको बताइन् । नवलपुरको दुम्क्यौलीमा ४३.८ डिग्री ताफक्रम पुगेको र बुधबारसम्मको तथ्याङ्कमा यो रेकर्ड यस वर्षकै सबैभन्दा बढी मापन हो । नवलपुरको दुम्क्यौलीमा भने पहिलो पटक ‘रेकर्ड ब्रेक’ भएको हो । यसअघि त्यहाँ सन् १९७९ मा ४३.७ डिग्री तापक्रम पुगेको थियो । उनका अनुसार तराईमा मात्रै होइन पहाडी क्षेत्रमा पनि तापक्रमले ‘रेकर्ड ब्रेक’ गरेको छ ।
ओखलढुङ्गामा सन् १९९९ मा सबैभन्दा बढी ३०.९ डिग्री तापक्रम रेकर्ड भएकामा यसपालि त्यहाँ पनि ‘रेकर्ड ब्रेक’ भएर ३१.९ डिग्री पुगेको छ । धरानमा सन् २०१३ मा सबैभन्दा बढी ३८.८ डिग्री तापक्रम मापन गरिएकामा यसपालि सन् २०२३ को जुन ७ (बुधबार) ३९.३ डिग्री पुगेको थियो ।  यस्तै इलामको कन्याममा सन् १९९३ मा २९ डिग्री रेकर्ड भएकामा यसपालि यही ५ तारिखमा ३० डिग्री मापन भई ‘रेकर्ड ब्रेक’ भएको कँडेलले बताइन् ।  यसपालि मुलुकका सबैजसो भूभागमा औसतभन्दा कम वर्षा हुने र तापक्रम बढ्ने अनुमान यसअघि नै सार्वजनिक गरिएको थियो । मनसुन १३ जुनमा प्रवेश गर्ने औषत समय भए पनि एक दुई दिन ढिला हुने देखिएको छ । मनसुन अहिले भारतको केरला आइपुगेको छ । यसपटक मनसुन भित्रिए पनि केही दिन पानी परेर फेरि सुक्खा हुने देखिएको मौसमविद्को भनाइ थियो ।  अर्का मौसमविद् विनु महर्जनले नेपालको पूर्वी भेगमा आज केही मौसममा बदली भए पनि अन्य क्षेत्रमा तापक्रम बढी नै रहेको बताइन् ।
उनका अनुसार यो समाचार तयार पार्दा कपिलवस्तुको तौलिहवामा ४२ डिग्री  तापक्रम छ । यस्तै चितवनको रामपुरमा ४१.७, सिमरामा ४१.१, जनकपुरमा ४०.७ डिग्री तापक्रम छ । काठमाडौँमा हिजोको तापक्रम ३२ दशमलव आठ पुगेकामा अहिले भने ३१ डिग्री रहेको जनाइएको छ । विगतमा काठमाडौँमा ३६ दशमलव छ डिग्रीसम्म तापक्रम रेकर्ड भएको अभिलेख छ ।  मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिनमार्फत काठमाडौँ उपत्यकालगायत देशका अन्य उपत्यकामा समेत तापक्रममा क्रमिक वृद्धि भइरहेको र तराई भू–भागमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन भएको उल्लेख गरेको छ । विभागले यस्तो अवस्थामा आगामी केही दिनसम्म देशभरिको तापक्रमको अवस्था तथा विश्लेषणअनुसार तराईका धेरैजसो भू–भागहरूमा अधिकतम र न्यूनतम तापक्रम क्रमिकरुपमा बढ्ने देखिन्छ ।
हालको तल्लो र उपल्लो वायुमण्डलको अध्ययन र विश्लेषणअनुसार नेपालमा यस वर्षको मनसुनको आगमन हुन अझै केही दिन लाग्ने देखिन्छ । तसर्थ देशका तराई भू–भागमा आगामी पाँच दिनसम्म तातो हावाको सम्भावना यथावत् रहने देखिएकाले सोबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरिएको छ । पहाडी भू–भागका उपत्यका तथा खोँचहरूमा समेत तापक्रम क्रमिक रुपमा बढ्न सक्ने सम्भावना देखिएको मौसमविद्ले बताए ।
यस्तो हुन सक्छ असर
तातो हावाका कारण थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने,  चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुन सक्छ ।  तातो हावाबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्किँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिनुपर्ने चिकित्सक डा पवनकुमार शाहले बताए ।
तालो हावाको लहरका सम्बन्धमा आज राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज पहिलोपटक छलफल गरेको छ । उक्त छलफलका सहभागीहरुले अब शीतलहरका लागि पनि नयाँ कार्ययोजना बनाएर अघि बढ्नुपर्ने सुझाव दिएका थिए । प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले प्राप्त सुझावलाई कार्यान्वयन गर्न आजदेखि आवश्यक तयारी थाल्ने र कार्ययोजना बनाएर लागू गर्ने प्रतिबद्धता जनाए ।

Recommended For You