खोटाङ । रेमिट्यान्स व्यवस्थापन र सदुपयोग सम्बन्धी वित्तीय साक्षरता कक्षा सुरु भएको छ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले रेमिट्यान्स व्यवस्थापन र सदुपयोग सम्बन्धी वित्तीय साक्षरता कक्षा सुरु गरेको हो । विदेशबाट भित्रिएको रकमलाई बचत गर्ने र उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने/गराउने लक्ष्यका साथ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा रेमिट्यान्स व्यवस्थापन र सदुपयोग सम्बन्धी वित्तीय साक्षरता कक्षा सुरु गरिएको हो ।
सुरक्षित आप्रवासन परियोजना (सामी) अन्तरगत वैदेशिक रोजगारीमा संलग्न परिवारका महिला सदस्यलाई सहभागी गराएर नगरपालिकाले वित्तीय साक्षरता कक्षा सुरु गरेको हो ।
कक्षामा २० देखि २५ जनाको चार वटा समूह सहभागी गराएर सञ्चालन हुने वित्तीय साक्षरता २१ हप्तासम्म चल्नेछ ।वित्तीय साक्षरता कक्षामा रेमिट्यान्सको सदुपयोग एवं व्यवस्थापन गर्दै उद्यमशीलता विकास, आय–आर्जनमा वृद्धि, व्यावसायिकता सँगै अन्य आर्थिक र व्यवहारिक विषयवस्तुमा छलफल भइरहेको सुरक्षित आप्रवासन परियोजना (सामी) खोटाङका कार्यक्रम संयोजक ओजोनबाबु आचार्यले जानकारी दिए । कक्षामा वैदेशिक रोजगारको कारणले परिवार तथा व्यक्तिमा पर्ने पिर, चिन्ता, हिंसा लगायतका मनोसामाजिक समस्यामा परामर्श समेत दिने व्यवस्था मिलाइएको छ ।