सुदूरपश्चिम । सुदूरपश्चिममा आज खेतबारीमा रोगब्याधी नलागोस् र बालीनालीमा उत्पादन बढोस् भन्दै कुरिलो, मेललगायत हरिया वनस्पतिको हर्याल हाल्ने चलन छ । हर्याल हाल्ने भन्नाले कुरिलो, मेललगायत हरिया वनस्पति खेतबारीको आलीमा रोप्नुलाई भनिन्छ । साउनमा देवीदेवता शयन गर्ने भएकाले खेतबारीमा लगाइएको अन्नबालीको संरक्षण होस् भनेर हर्याल हाल्ने गरिएको संस्कृतिका जानकार भट्टले बताउनुभयो । उहाँले सङ्क्रान्तिका दिन ब्राह्मण र चेलीबेटीलाई टीका लगाएर दानदक्षिणा दिने चलन रहेको जानकारी दिए ।
त्यस्तै साउनमा खिर पकाएर खाने तथा पराइघर गएका चेलीबेटीलाई मीठा खाद्यान्न परिकार पकाएर दिनुका साथै असारभरी हिलोमा खेतीपाती गर्नुपर्दा शरीर चिलाउने, खटिरा, लुतो आदि आउने भएकाले आज सफासुग्घर गरी ‘लुतो फाल्ने’ गरिन्छ ।
गाउँघरमा आज साँझ अँगेनामा कुरिलो र तितेपाती सल्काएर एउटा अगुल्टो झिकेर चारै दिशामा घुमाउँदै ‘लुतो लैजाऊ’ भनी फ्याँक्ने गरिन्छ । त्यसरी लुतो फालिसकेपछि जिउमा घाउ, खटिरा आएको छ भने कुकुरडाइनो जलाई त्यसको मलम बनाएर लगाउने चलन छ । साउनमा पार्वतीले व्रत बसी महादेव पति पाएको धार्मिक विश्वासका आधारमा यस महिनालाई पवित्र महिनाका रुपमा मान्ने गरिन्छ । योसँगै चाडपर्व सुरु भएको मानिन्छ ।
