उपत्यकामा ‘यात्रुसँग दुई मिनेट’ट्राफिक सचेतना कार्यक्रम सुरु

काठमाडौंँ । काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले बुधबारबाट ‘यात्रुसँग दुई मिनेट’ ट्राफिक सचेतना कार्यक्रम सुरु गरेको छ । काठमाडौंँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले आज सुन्धारास्थित बस बिसौनीमा यात्रुसँग दुई मिनेट ट्राफिक चेतनामूलक कुराकानी गर्दै सन्देशमूलक सामग्रीसमेत वितरण गरेर कार्यक्रमको औपचारिक सुरुवात गरे । गाडी पूर्णरुपमा नरोकिँदै र बस बिसौनीमा नगइ जथाभावी सवारी चढ्ने र ओर्लने, सवारी साधनको झ्याल ढोकाबाट हात तथा टाउको बाहिर निकाल्ने जस्ता कार्यले पनि सवारी दुर्घटना हुँदै आएकाले सचेत गराउन उक्त कार्यक्रम सुरु गरिएको पोरखेलले बताए ।

सुरक्षित सडक यात्राका लागि चालक र सहचालकलाई चेतनामूलक कार्यक्रम गर्दै आएको ट्राफिक प्रहरीले यात्रुको पनि महत्वपूर्ण जिम्मेवारी रहने भएकाले यस कार्यक्रमको सुरुवात गरिएको उनले बताए । मादक तथा र लागुपदार्थ सेवन गरेर सवारीसाधन चलाएको शङ्का लागेमा, सवारीसाधनमा बढी भाडा लिएमा तथा दुव्र्यवहार गरेमा र सवारी साधनमा आरक्षण सिटको पालना नगरेमा/नगराएमा प्रहरीको हटलाइन नम्बर १०० र ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ मा सम्पर्क गर्न प्रहरीले यात्रुलाई अनुरोध गरेको छ ।

सो क्रममा बस बिसौनीबाट मात्र गाडी चढौंँ, सवारी साधनमा हुने पकेटमारीबाट बचौंँ, सवारी साधनमा हुने दुव्र्यवहार र अन्य आपराधिक क्रियाकलापबाट बचौँं लगायत यात्रुले पैदल हिँड्दा र बाटो काट्दा पालना गर्नुपर्ने आधारभूत जानकारीसहितको पर्चा पम्प्लेट यात्रुलाई वितरण गरिएको थियो । ट्राफिक जनचेतना अभिवृद्धिका लागि विभिन्न चोकहरूमा ब्यानरसमेत प्रदर्शन गरिएको छ । यात्रुको आवतजावत बढी हुने स्थान काठमाडौँका न्यूरोड, शान्तिवाटिका, कालिमाटी, कलङ्की, महाराजगञ्ज, चावहिल, गौशाला, कोटेश्वर तथा भक्तपुर र ललितपुरका विभिन्न बस बिसौनीमा आगामी १० गतेसम्म यो कार्यक्रम सञ्चालन गरिनेछ ।


Recommended For You