नेपाली, संस्कृत र अङ्ग्रेजी भाषाको त्रिवेणी आचार्य पीपलमणि सिग्देलको ‘विचारपुञ्ज’ विमोचन

काठमाडौँ । नेपाली, संस्कृत र अङ्ग्रेजी भाषाको त्रिवेणी आचार्य पीपलमणि सिग्देलको ‘विचारपुञ्ज’ विमोचन गरिएको छ ।

 

Zoom मार्फत् आयोजना गरिएको कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ‘विचारपुञ्ज’ कृतिको विमोचन गरेका हुन् । कृतिको विमोचन गरेका महामन्त्री शर्माले सर्जक पीपलमणि सिग्देललाई वाल्मीकि क्याम्पसको प्राङ्गणतिर चिनेको र सँगसँगै साहित्य यात्रामा अगाडि बढेको स्मरण गर्दै सिग्देलले नेपाल देश बाहिर छरिएर रहेका अन्तर्राष्ट्रिय नेपाली मनहरूलाई जोड्न सफल भएको बताए ।

हामी नेपालमा घरमा हुँदा राष्ट्रिय झण्डा भन्दा पनि भिन्नभिन्न दलको झण्डा राख्छौँ । विचारमा, भुगोलमा वर्गमा विभाजित हुँदा रहेछौँ तर, विदेशमा जाँदा सबैको घरमा राष्ट्रिय झण्डा हुने रहेछ । परिचय गर्दा नेपाली भनेर परिचय गर्दा रहेछौँ । त्यसैले हाम्रो राष्ट्रिय परिचय बाहिर हुने रहेछ, महामन्त्री शर्माको भनाइ थियो । टिप्पणी गर्दा शर्माले कृतिका कविताका भावयुक्त पङ्क्ति पनि वाचन गरेर सुनाएका थिए ।

महामन्त्री शर्माले नेपालबाट बाहिर गएका नेपालीलाई त नेपालको माटोको, धर्मको, संस्कारको, सँस्कृतिको माया हुन्छ । नेपालको संविधानले पनि तेस्रो पुस्तासम्मलाई नागरिकताको व्यवस्था गर्छ तर नेपालीका विदेशमा जन्मेका छोराछोरी हजुरबा हजुरआमा हुँदा तिनीहरूका नातिनातिनीलाई पनि नेपालसँग कनेक्सन कसरी गराउन सकिन्छ, सोच्नुपर्ने बताए ।

‘विचारपुञ्ज’ कृतिमाथि टिप्पणी गर्दै प्रा. डा. नवराज कट्टेलले ‘विचारपुञ्ज’ आत्मप्रकाशनको अनुभूति भएको बताए । कट्टेलले प्रतिभा सम्पन्न विनयशील र आज्ञाकारी व्यक्तित्व रहेका पीपलमणि सिग्देलले आफू जस्तै अन्तर्राष्ट्रिय मनलाई जोडिरहेकोमा धन्यवाद दिए ।

भूगोल मात्र राष्ट्रियता होइन रहेछ, राष्ट्रियता त नेपाली मन, नेपाली भावना, नेपाली विचार पनि रहेछ भन्ने पीपलमणि सिग्देलबाट प्रमाणित हुँदै गएको कट्टेलको भनाइ थियो ।

प्रा.डा. नवराज कट्टेलले साहित्य खण्ड, संस्कृति खण्ड, बुद्ध धर्म दर्शन खण्ड, संस्कृत खण्डमा संरचित विचारपुञ्जका लेखरचना र साहित्यले कृतिको उचाइ बढेको बताए । उनले राजनैतिक र सामाजिक सन्दर्भलाई बुझ्न अन्तर्वार्ताले पनि कृतिमा भूमिका खेलेको कट्टेलको कथन थियो । उनका अनुसार ‘विचारपुञ्ज’ विचारप्रधान भइकन राम्रो, राम्रो भइकन मिठो, मिठो भइकन सरल, सरल भइकन बोधगम्य रहेको छ।

कृतिमा संस्कृत भाषाको लघुनाटक रहेको प्रसङ्ग उल्लेख गर्दै सो नाटक मञ्चनीय समेत रहेको नवराज कट्टेलको भनाइ थियो । उनका अनुसार कोरोना महामारीबाट मुक्ति पाउन आध्यात्मिक सुत्रलाई अनुसरण गर्नुपर्ने भाव भएको संस्कृत भाषाको सरल एकाङ्की रहेको छ । कृतिमा संस्कृत भाषामा कविता रचिएका छन् ।कविताका माध्यमबाट नेपाली माटो, नेपाली हिमाल, तराई,मधेस पहाड, नेपाली प्रकृतिलाई समेटिएको छ ।

प्रा.डा. नवराज कट्टेलका अनुसार नेपाली, संस्कृत र अङ्ग्रेजी भाषाको त्रिवेणी नै हो-विचारपुञ्ज । सोही अवसरमा कट्टेलले सर्जकको कलम कहिल्यै नरोकियोस्, कलम कहिल्यै नझुकोस् वर्षैपिच्छे यस्ता कृति पाइराखौँ भनेर शुभकामना दिएका थिए ।

‘विचारपुञ्ज’ कृति आएकोमा सर्जक पीपलमणि सिग्देललाई धेरै श्रष्टाहरूले शुभकामना व्यक्त गरेका थिए । शुभकामना दिने क्रममा प्रतिनिधिसभा सदस्य बद्री पाण्डेले सर्जकसँग वाल्मीकि क्याम्पसको स्ववियुमा रहँदाको किशोरावस्थाको स्मरण गर्दै अङ्ग्रेजी, नेपाली र संस्कृतको ज्ञान हासिल गरेकोमा बधाई दिए । पाण्डेले यदुनाथ खनालको समेत स्मरण गर्दै संस्कृत र अङ्ग्रेजी भाषामा अझै गहिराइमा पुग्न पनि सिग्देललाई शुभकामना दिएका थिए ।

परशुराम भण्डारीले जसरी विचारपुञ्जले सबै क्षेत्रलाई समेटेर साझा बनेको छ, त्यसरी नै पीपलमणि सिग्देल पनि सबैको साझा व्यक्तित्व भएको बताए । विचारपुञ्जको सर्जक पिपलमणि सिग्देल भए पनि एनआरएनको साझा कृति बनोस् भनी भण्डारीले शुभकामना दिएका थिए ।

सीता अर्यालले आफ्नो विद्वत्ता प्रस्तुत गरिएको गहन कृति ल्याएकोमा सिग्देललाई  शुभकामना दिइन् । त्यस्तै कोमल भट्टले पीपलमणि सिग्देल र उनको कृति ‘विचारपुञ्ज’ कृतिका लागि उपजाति छन्दको मिठो कविता सुनाएर शुभकामना दिएका थिए ।

पत्रकार गुणराज लुइँटेलले सर्जक सिग्देल इस्टर्न र वेस्टर्न साहित्यलाई बुझ्न सक्ने क्षमता भएका व्यक्तित्व भएको बताए । जीवनका विभिन्न पक्षलाई समेट्न सक्ने क्षमता भएका व्यक्तित्व पीपलमणि सिग्देल अरूका विचारलाई पहिला सुनेर अनि मात्र आफ्ना विचार राख्ने सुसंस्कृत व्यक्तित्वका धनी सर्जकका रूपमा आफूले बुझेको लुईँटेलको भनाइ थियो ।

राजेन्द्र अर्यालले बृहद् ज्ञानराशीले युक्त व्यक्तित्व पीपलमणि सिग्देलमा एटलान्टिक महासागरमा पानी जसरी ढलपल ढलपल गरी छचल्किएको छ, त्यसैगरी सिग्देलमा साहित्य, दर्शन र विचार छचल्किरहेको बताए । त्यसैगरी हरिहर अर्यालले अमेरिकामा बसेर पनि संस्कृत भाषामा साहित्य सिर्जना गर्नु महत्वपूर्ण उपलब्धी भएको बताए । यसरी विचारपुञ्जका सर्जक आचार्य पीपलमणि सिग्देललाई सबैले सिर्जना नरोकियोस् भनी शुभकामना व्यक्त गरेका थिए ।

Zoom मा कार्यक्रम शुरू गर्दा स्वामि वालगोपालले दीप प्रज्वलन गरेका थिए भने चुडामणि पाठकले शान्ति पाठ गरेका थिए । विभिन्न देशमा रहेका करिब ५५/६० जना नेपालीको सहभागितामा zoom सभामा आचार्य पीपलमणि सिग्देलको कृति विचारपुञ्जको विमोचन भएको थियो ।

 

 

 

 

 


Recommended For You