च्यास्मिटारमा बाल शिक्षा तथा प्राथमिक शिक्षणसम्बन्धी कार्यशाला गोष्ठी

खोटाङ । बौद्धिक समूह नेपाल (आइसिएन)ले खोटाङको हलेसी तुवाचुङ नगरपालिका ३ च्यास्मिटारमा बाल शिक्षा तथा प्राथमिक शिक्षणसम्बन्धी तीन दिने कार्यशाला गोष्ठी सुरु गरेको छ । च्यास्मिटारभित्रका बाल शिक्षा तथा प्राथमिक तहका विद्यालयका प्रधानाध्यापक तथा शिक्षकलाई सहभागी गराएर शनिबारदेखि अंग्रेजी र नेपाली फोनिक्स शिक्षणसम्बन्धी कार्यशाला गोष्ठी सुरु गरिएको हो ।

बाल शिक्षा तथा प्राथमिक तहमा अंग्रेजी र नेपाली फोनिक्स शिक्षणसम्बन्धी दक्षता विकासमा सघाउ पुर्‍याउन कार्याशाला गोष्ठी आयोजना गरिएको बौद्धिक समूह नेपालका अध्यक्ष भवीन्द्रकुमार राईले बताए ।

च्यास्मिटार माविमा आयोजना गरिएको कार्यशाला गोष्ठीमा वडाभित्रका बालविकास केन्द्र र प्राथमिक तहका १० विद्यालयका २९ शिक्षकरशिक्षिकाको सहभागिता छ ।

काठमाडौंमा ०७५ सालमा स्थापना गरिएको बौद्धिक समूहले ०७८ कात्तिकमा च्यास्मिटारका पूर्वप्राथमिक र प्राथमिक तहका शिक्षकरशिक्षिकाको शिक्षण कला विकासमा सघाउ पुर्‍याउन बाल मनोविज्ञानमा आधारित शिक्षणसम्वन्धी कार्यशाला गरेको थियो । समूहले ०७८ सालमा च्यास्मिटार माविबाट उत्कृष्ट अंक ल्याएर एसइई उत्तीर्ण गर्ने च्यास्मिटार माविका छात्रा जीवना राई र छात्र दिलीप राईलाई कक्षा ११ अध्ययनका लागि छात्रवृत्ति प्रदान गरेको छ ।


Recommended For You