बारामा पाँच हजार आठ सय हेक्टरमा मकैखेती

कलैया । बारामा यस वर्ष पाँच हजार आठ सय ६० हेक्टर क्षेत्रफलमा मकैखेती भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
खाद्यान्य बालीमा मकैबाली तेस्रो स्थानमा रहेकाले हिउँदे, वर्षे र वसन्ते गरी तीन प्रकारका बाली लगाउने गरिएको केन्द्रका प्रमुख जीतेन्द्र यादवले जानकारी दिए । तीन प्रकारका बाली लगाउन सकिने भएकाले किसानको यसतर्फ आकर्षण बढेको उनको भनाइ थियो ।
मकै बालीमा हिउँदे र वसन्ते सिञ्चित क्षेत्रमा र वर्षे कम सिञ्चित क्षेत्रमा खेती हुने केन्द्रका बाली संरक्षण अधिकृत राजनारायणप्रसाद साहले बताए । मकै व्यापारीले किसानको घर, खेतबाटै खरिद गर्ने गरेकाले बजारको समस्या नभएको किसान बताउँछन् ।
गत वर्ष विभिन्न जातका हिउँदे मकै पाँच हजार आठ सय ५० हेक्टर क्षेत्रफलमा खेती गर्दा ३७ हजार चार सय ४० मेट्रिकटन मकै उत्पादन भएको केन्द्रका कृषिप्रसार अधिकृत रामजीवन ठाकुरले  जानकारी दिए।

Recommended For You