खोटाङ । शैक्षिक गुणस्तर सुधारका लागि खोटाङको केपिलासगढी गाउँपालिकाले विद्यार्थीको कापी जाँच गर्ने भएको छ । विद्यार्थीलाई शैक्षिक क्रियाकलापमा थप क्रियाशील गराउन गाउँपालिकाले नि:शुल्क कापी वितरण गर्ने र विद्यार्थीले लेखिसकेका कापी चेक गर्ने तयारी गरेको हो ।
सातवटा वडा रहेको गाउँपालिकाले सुरुमा कक्षा १ देखि ३ सम्मका विद्यार्थीलाई आफैँले तयार पारेको ‘विद्यार्थी अभ्यास पुस्तिका’ नि:शुल्क वितरण गर्ने तथा कक्षा कार्य र गृहकार्य जाँच गर्ने भएको हो ।
पृष्ठभूमिमा गाउँपालिकाको कार्यालय र नक्सा राखिएको ‘विद्यार्थी अभ्यास पुस्तिका’ छपाइको काम अन्तिम चरणमा पुगेको गाउँपालिका अध्यक्ष समीर राईले बताए । यो कदम केही कामचोर शिक्षकमाथिको ‘निगरानी’का लागि ल्याइएको बुझिएको छ । १ मंसिरदेखि नि:शुल्क कापी वितरण गर्ने र चेक गर्ने अभियान लागू गरिने गाउँपालिकाले जनाएको छ ।
कक्षा कार्य र गृहकार्य गर्ने क्रममा भरिएको कापीलाई सम्बन्धित विद्यालयका प्रधानाध्यापकले गाउँपालिकामा बुझाएर नयाँ कापी लैजाने व्यवस्था गरिएको छ । विद्यार्थीले सबै पानामा लेखिसकेपछि प्रधानाध्यापकले बुझाएको कापीलाई भने जनप्रतिनिधिको उपस्थितिमा शिक्षा शाखाले चेक गर्ने गाउँपालिकाले जनाएको छ ।