मनाङ । नश्ल सुधारका लागि हिमाली जिल्ला मनाङका किसानलाई ब्याड याक वितरण गरिएको छ । गण्डकी प्रदेशले सोलुखुम्बुको स्याङबोचेस्थित याक आनुवंशिक स्रोत केन्द्रबाट ल्याएर याक वितरण गरेको हो ।
वंशाणुगतरुपमा हाडनाताबाट उत्पादित याकचौँरीमा हुने समस्याको समाधान गर्न प्रदेश सरकारले ब्याड प्रयोजन गर्ने उद्देश्यले याक वितरण गरिएको पशुपन्छी तथा मत्स्यविकास निर्देशनालयका महानिर्देशक डा. बालकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार शुद्ध नश्लका याक प्रदेश सरकारले खरिद गरी किसानलाई वितरण गरेको हो । उनले भने, “हाडनाताबाट जन्मने याकचौँरीमा धेरै समस्या उत्पन्न हुन सक्ने र याकचौँरीको नश्ल सुधारमा मद्दत पुर्याउने लक्ष्यका साथ केन्द्रबाट याक ल्याएर वितरण गरिएको हो ।”
प्रदेश सभा सदस्य मुनिन्द्रजङ्ग गुरुङले लोपोन्मुख याकचौँरीको शुद्ध नश्ललाई प्रवद्र्धन गर्ने उद्देश्यले यहाँका किसानलाई ब्याड याक वितरण गरिएको बताए । उनले भने, “हाडनाताबाट याकचौँरीको नश्ल खस्किँदै जाने पशु विज्ञका सुझावअनुसार नश्ल कायम राख्न ब्याड याक वितरण गरिएको हो ।” भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख नरेन्द्र राईले याक आनुवांशिक स्रोत केन्द्र स्याङबोचे ल्याइएका याक किसानलाई वितरण गरिएको बताए । उनले भने, “याकचौँरी संरक्षण संस्था मनाङको समन्वयमा किसानलाई याक वितरण गरिएको छ । यसले नश्ल सुधारमा सहयोग पुग्नेछ ।” उहाँका अनुसार जिल्लाका किसानलाई वितरण गर्नका लागि नौ याक ल्याइएको हो ।
याकचौँरी संरक्षण संस्था मनाङका अध्यक्ष सुरेश थकालीले सामूहिक याकचौँरीपालक किसानलाई प्राथमिकता दिएर याक वितरण गरिएको जानकारी दिए । उनले ब्याड याक घुम्तीरुपमा प्रयोग गर्ने गरी वितरण गरिएको बताए । उनले भने, “चार पालिकालाई दुई वटाका दरले याक वितरण गरिएको छ । यसलाई घुम्ती तवरबाट उपयोग गर्ने गरी ब्याड याक वितरण गरिएको हो ।” नश्ल सुधारका लागि ल्याइएका याकलाई काटमार गर्न नपाइने, अन्य प्रयोजनका लागि उपयोग गर्न नपाइने सम्झौता गरी वितरण गरिएको अध्यक्ष थकालीले जानकारी दिए ।
चार पालिकालाई वितरण गरी बाँकी रहेको एउटा याक भने संस्थामार्फत जिल्लाका अन्य ठाउँका लागि घुम्तीरुपमा उपयोग गर्न राखिएको उनले बताए । प्रदेशले स्याङबोचे केन्द्रबाट १९ याक ल्याएकामा मनाङमा नौ र मुस्ताङ १० वटा वितरण गरेको हो ।
