नगद तीन करोड ३५ लाखसहित रामबहादुर बम्जन सार्वजनिक

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले रामबहादुर बम्जन भन्ने रामलाल बम्जनलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । हिजो साँझ पक्राउ परेका बाराको निजगढस्थित रतनपुरी स्थायी घर भएका ३४ वर्षीय बम्जनलाई सिआइबीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

पत्रकार सम्मेलनमा सिआईबी प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले चार तला माथिबाट हाम्फालेर भाग्न खोजेका बेला बम्जनलाई काठमाडौँको बूढानीलकण्ठस्थित आफ्नै घरबाट हिजो साँझ पक्राउ गरिएको जानकारी दिए । उनका अनुसार निजको साथबाट ३० लाख ९२ हजार नेपाली रुपैयाँ बराबरका विभिन्न १७ देशका मुद्राका साथै तीन करोड तीन लाख ७५ हजार बरामद गरिएको छ । निजविरुद्ध यौन सन्तुष्टी प्राप्त गर्ने तथा बालयौन शोषण तथा व्यक्ति बेपत्ता गरेको आरोपमा जाहेरी दर्ता भएको थियो । २०७१ साउनदेखि बाराको हलखोरियामा रामबहादुर बम्जनको आश्रममा आनीको रूपमा रहेकी २२ वर्षीया महिलाको जाहेरीका आधारमा सर्लाही जिल्ला अदालतबाट २०७६ माघ २३ गते प्रहरीलाई पक्राउ अनुमति प्राप्त भएको थियो ।

साथै अवैधरुपमा विदेशी तथा नेपाली मुद्रा सञ्चित गरी राखेको छन् भन्ने सूचनाका आधारमा बम्जनको खोजतलास गरी पक्राउ गर्न अनुमति प्राप्त भएको सिआइबीले जानकारी दिएको छ । लामो समयको खोजतलासपछि काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–६ रहेको आफ्नै घरमा लुकिछिपी बस्दै आएका बम्जनलाई हिजो साँझ पक्राउ गरिएको थियो ।

“पक्राउ गर्ने क्रममा घरको चौथो तलामा रहेको दक्षिणतर्फ झ्यालबाट खाली रहेको भिरालो जमिनमा हाम्फालेर भाग्न लागेका बेला ब्युरोको टोलीले निजलाई पक्राउ गरेको हो”, सिआइबीका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकरीले भने । निजको साथबाट १४ थान मोबाइल, चार थान ल्यापटप र ट्याब, ३० वटा पेन ड्राइभ, रेकर्डर, मेमोरी कार्डलगायतका विद्युतीय सामग्री बरामद गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । बम्जनको आश्रमबाट बेपत्ता भएका व्यक्तिहरुको हकमा भने अनुसन्धान जारी रहेको सिआइबीले जनाएको छ ।


Recommended For You