हराएको पहिचान फर्काउँदै चितवनको तोरी

चितवन । तोरी धेरै उत्पादन हुने जिल्ला कुन हो ? यो प्रश्नको जवाफ हुन्थ्यो चितवन । यसरी तोरी उत्पादनमा पहिचान बनाएको चितवन जिल्लामा बीचमा केही समय तोरीको उत्पादन क्रमश: घट्दै गएको थियो । तोरी उत्पादनमा कमी आएपछि चितवनले पनि कतै आफ्नो पहिचान गुमाउने हो कि भन्ने त्रास जिल्लावासीमा थियो । तर पछिल्ला वर्षमा भने तोरी उत्पादनमा क्रमश: वृद्धि हुँदै गएको छ । चितवनले हराएको पहिचान फर्काउने भएको छ ।

देशका अधिकांश नागरिक बसाइँ सरेर चितवन बस्न थालेको इतिहास छ । वन फँडानी गरेर उनीहरुले मानवबस्तीको विकास गरेका हुन् । यही क्रममा यहाँको उर्वर माटो तोरीका लागि अत्यन्त उपयुक्त बन्यो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना भरतपुरका प्रमुख महेश रेग्मी तोरीका लागि गोबर, पातपतिङ्गरबाट बनेका प्राङ्गारिक मल आवश्यकपर्ने बताए । यसबाट पाइने सल्फरजस्ता सुक्ष्म तत्वले तोरीको उत्पादन वृद्धि गर्दछ ।

रेग्मीका अनुसार विगतमा वन फँडानी गरेर वनेको खेतीयोग्य जमिनमा तोरी निकै राम्रो थियो । माटो बिग्रँदै गएर तोरीको उत्पादन निकै न्यून बन्यो । उनको भनाइमा २०५० सम्म तोरीको उत्पादन निकै राम्रो हुन्थ्यो । चितवनसहित सुर्खेत, दाङ, सर्लाहीलगायतका मधेसका फाँटहरुमा तोरी निकै राम्रो उत्पादन हुने गरेको रेग्मीले बताए । विगत केही वर्षयता विगतको साखलाई तोरीले फर्काएको छ । उनको भनाइमा २०७६ तिरदेखि तोरीको उत्पादन बढ्दै गएको छ । अहिले धानभन्दा बढी जमिनमा तोरी लगाउन थालिएको उनले बताए । उनका अनुसार क्षेत्रफल मात्रै होइन उत्पादकत्वसमेत बढ्दै गएको छ ।

तोरी बाली लगाउने क्षेत्रफल घट्नुमा रोग, किरा, जमिनको तीव्र खण्डीकरण, तेलको मूल्यमा कमीलगायत धेरै कारण थिए । कुनै समयमा चितवनको १८ हजार हेक्टरमा तोरी फल्ने क्षेत्रफल घटेर चार हजार पाँच सय हेक्टर मात्र पुगेको थियो । करिब २२ वर्ष चितवनमै कृषि अधिकृत रहेका रेग्मी अहिलेको उत्पादन वृद्धिलाई पहिलेको भन्दा अझै राम्रो भएको बताए। बजारमा तेलको मूल्य अस्वाभाविक वृद्धि हुनु, बजारमा पाइने अरु प्रकारका खाने तेलमा मिसावट बढ्नु र तोरीका नयाँ जातको विकास हुनुले पनि किसानलाई तोरीतर्फ आकर्षित गरेको उनले बताए । पहिले लगाइएका चितवन लोकल, सुर्खेत लोकल, दाङ लोकल जातका तोरीसँगै अहिले नयाँ जात विकास भएका छन् । बढीमात्रामा प्रगति, उन्नति नामका स्वदेशी जातसँगै विदेशी विभिन्न जातका तोरी भित्र्याइएको छ र यसकारण पनि उत्पादन बढाएको छ ।

रेग्मीले भने, “धानभन्दा बढी तोरी लगाउन थालिएको छ, उत्पादन बढेको छ, यसलाई सरकारले अनुसन्धान गरेर प्रवर्द्धन गर्नुपर्छ । तोरीको तेलको मूल्य पाएपछि किसानले क्षेत्रफल पनि बढाएका छन् ।” जिल्लामा राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनबाट निस्किएका वन्यजन्तुले अन्य अन्नबालीमा भन्दा कम क्षति गर्ने भएकाले पनि किसान तोरीखेतीतर्फ केन्द्रित भएको पाइन्छ । माडी नगरपालिका–३ का ओमप्रकाश महतो जङ्गली जनावारले तोरी बालीलाई नरुचाउने भएकाले सुरक्षित बाली भित्र्याउन पाउने भएपछि तोरीखेती गर्न थालेको बताए । चितवन जिल्लामा राष्ट्रिय निकुञ्ज र वन क्षेत्रसँग जोडिएका धेरै खेतीयोग्य जमिन छन् ।

यस क्षेत्रमा हात्ती, गैँडा, चित्तललगायतले अन्नबालीमा क्षति गर्ने गर्दछन् । उनी मात्रै होइन अहिले सो गाउँ नै तोरीमय भएको छ । उनले भने, “अहिले हाम्रो क्षेत्रमा ६० हेक्टरभन्दा बढी जमिनमा तोरीखेती गरिएको छ । तोरी छिटो पाक्ने र मूल्य पनि राम्रो पाउने भएकाले सबैको ध्यान यस बालितर्फ गएको छ । यो सजिलो खेती हो ।” कृषि ज्ञानकेन्द्र चितवनका अनुसार जिल्लामा यस वर्ष २१ हजार आठ सय ५० हेक्टर क्षेत्रफलमा तोरीखेती गरिएको छ । यो क्षेत्रफल गत वर्षको तुलनामा बढी हो । गत वर्ष १४ हजार सात सय ६५ हेक्टर क्षेत्रफलमा तोरीखेती गरिएको केन्द्रका योजना अधिकृत उमराज अर्यालले बताए । गत वर्ष जिल्लामा १९ हजार एक सय ९४ मेट्रिकटन तोरी उत्पादन भएको थियो । यो वर्ष तोरी उत्पादनमा समेत वृद्धि हुने उनको भनाइ छ ।


Recommended For You