नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नं ५ मा नमुना औद्योगिक ग्राम निमार्णको काम सुरु भएको छ । खजुरा खोला नजिक १७ बिघा १७ कठ्ठा क्षेत्रफलमा करिब रु १९ करोडको लागतमा नमुना औद्योगिक ग्राम निर्माण सुरु भएको हो ।औद्योगिक ग्रामको एक समारोहबीच उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल र उद्योगपति एवं सङ्घीय सांसद विनोद चौधरीले संयुक्तरूपमा शिलान्यास गरे । मन्त्री रिजालले सरकार निजी क्षेत्रसँग सहकार्य गरी अघि बढ्न तयार रहेको बताए ।
उनले समयसापेक्ष सरकारले औद्योगिक नीतिनियम प्रभावकारी बनाउँदै लैजाने जिकिर गरे ।सांसद चौधरीले एसएमई भिलेज उद्यमशीलताको नमुना बन्ने र नवलपरासीका युवालाई उद्यमी बनाउन यस परियोजनाको ठूलो महत्व रहने बताए । नेपाल सरकारको २०७७/७८ को नीति तथा कार्यक्रमअनुसार देशका कुल एक सय ३० पालिकामा नमूना औद्योगिक ग्राम निर्माण गर्ने योजनाअन्तर्गत पश्चिम नवलपरासीको बर्दघाटमा जिल्लाकै पहिलो नमूना औद्योगिक ग्राम निर्माण थालिएको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले चालु आर्थिक वर्षमा उक्त ग्राम निर्माणको काम अघि बढाउन तत्कालका लागि कुल चार करोड विनियोजन गरेको थियो । मन्त्रालयले प्रारम्भिक चरणको काम अघि बढाउन आह्वान गरेको बोलपत्रअनुसार सो कार्य गर्न दुई करोड ९३ लाखमा रिलायन्स बिल्डर्स एण्ड सप्लायर्स जेभीले जिम्मा पाएको छ । प्रथम चरणको कार्य आगामी महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको रिलायन्स बिल्डर्स एण्ड सप्लायर्स जेभीमा कार्यरत प्राविधक रवीन्द्र शाहले जानकारी दिए । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको विशेष आर्थिक क्षेत्र प्राधिकरणले उक्त नमुना औद्योगिक ग्राम निर्माणको आवश्यक सहजीकरण गर्दै आएको छ ।
उद्योग ग्रामभित्र स्थापना हुने साना तथा मझौला उद्योगका लागि उद्योग परिसरमा आवश्यकतानुसार भौतिक पूर्वाधार, उत्पादन र प्रदर्शनीस्थल, फोहर प्रशोधन केन्द्र, सञ्चार, सडक, बिजुली, नाला तथा आवश्यक औद्योगिक विभिन्न संरचना निर्माण हुनेछन् ।उद्योगग्राममा कुल ९० ‘प्लट’मा साना घरेलु तथा मझौला उद्योग सञ्चालन हुनेगरी उद्योगका लागि आवश्यक सबै संरचना निर्माण गर्ने आगामी योजना छ । उक्त नमुना औद्योगिक ग्राम क्रमागतरूपमा निर्माण हुँदै जानेछ । मन्त्रालयले नमुना औद्योगिक ग्रामका रूपमा निर्माण गर्ने भए पनि यस ग्रामको सञ्चालन तथा व्यवस्थापन बर्दघाट नगरपालिकाले गर्ने छ ।
