अभिभावक संघ नेपालको अधिवेशन सम्पन्न, केशव पुरी पुनः अध्यक्ष

काठमाडौँ । अभिभावक संघ नेपालको छैटौँ राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । महाधिवेशनबाट वर्तमान अध्यक्ष केशव पुरी नै पुनः अध्यक्ष भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरद्सिंह भण्डारीको प्रमुख आतिथ्यतामा अभिभावक संघ नेपालको छैटौँ महाधिवेशन सम्पन्न भएको हो । उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि भण्डारीले अभिभावकले एउटा क्षेत्रको मात्र होइन, समग्र शिक्षाको अभिभावक बन्न आग्रह गरे । उनले एक पटक विदेश नगई नहुने मानसिकता छ त्यसलाई परिवर्तन गर्न भन्दा विदेश गएकालाई स्वदेशमा ल्याउन कसरी सकिन्छ त्यतातिर लागेको बताए । मन्त्री भण्डारीले अहिले विदेश केवल बेरोजगार भएर मात्र गएको नभई मानसिकता नै विदेश जाने भएर गएको अवस्था रहेको उल्लेख गरे ।

महाधिवेशनका विशिष्ट अतिथि राष्ट्रिय सभा सदस्य जितजङ्ग बस्नेतले संसारमा जुनसुकै देशमा पनि सरकारी शिक्षा क्षेत्र जल्दोबल्दो छ तर हाम्रोमा चाहिँ ठिक उल्टो सरकारी ध्वस्त प्राइभेट जल्दोबल्दो छ, यसलाई सुधार गर्नुपर्ने बताए । त्यस्तै अर्का विशिष्ट अतिथि वागमती प्रदेशसभा सदस्य एवं अभिभावक संघ नेपालका उपाध्यक्ष रघुनाथ महर्जनले वागमती प्रदेशमा नयाँ शिक्षा ऐन आउँदै छ, त्यसमा के कस्ता कुरा सम्बोधन गर्ने हो अभिभावक संघको सल्लाह सुझावलाई आफूले ऐनमा समेट्न प्रयास गर्ने बताए ।

अभिभावक संघ नेपालका संस्थापक अध्यक्ष सुप्रभात भण्डारीले राम्रो प्रमाणपत्र ल्याएको विद्यार्थी गमलामा पानी हाल्न जान्दैन भने त्यो शिक्षा राम्रो शिक्षा नभएको बताउँदै आफ्नो संस्कारयुक्त शिक्षा दिनुपर्नेमा जोड दिए । त्यस्तै डा. रामहरि शर्माले मौलिक संस्कृति जोगाउने र अन्तराष्ट्र्रिय सम्बन्धलाई जोड्ने शिक्षा हुनुपर्ने बताए । त्यस्तै एन प्याब्सनका अध्यक्ष सुवास न्यौपानेले अभिभावक, विद्यार्थी र विद्यालय व्यवस्थापन समितिका साथै शिक्षकको त्रिकोणात्मक सम्बन्धले मात्र समग्र शिक्षा क्षेत्र मजबुत हुने बताए ।

अभिभावक संघ नेपालका अध्यक्ष केशव पुरीले आगामी दिनमा अभिभावक संघ नेपालले नेपालको शिक्षालाई आध्यात्मिकतातर्फ लैजान पनि भूमिका खेल्ने बताए । उनले अभिभावक संघलाई अझ प्रभावकारी बनाउन लागिपर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए । अभिभावक संघ नेपाल कोसी प्रदेश अध्यक्ष देवी पन्थीले २०५१ सालदेखि अभिभावक संघ नेपालको झण्डामुनि बसेर नेपालको शिक्षा क्षेत्रमा भएका विकृति र विसङ्गतिका विरूद्धमा खबरदारी गर्ने र रचनात्मक एवं सिर्जनात्मक सल्लाह र सुझाव दिँदै आएको बताए । यसै गरी सामुदायिक विद्यालय अभिभावक संघका अध्यक्ष रामप्रसाद न्यौपानेले नेपालको शिक्षा परिवर्तन गर्न एउटा संस्थाले मात्र होइन सबै संस्थाले हातेमालो गर्दै अगाडि बढ्नुपर्ने बताए । विदेशमा बस्ने विद्यार्थीका अभिभावक संघका अध्यक्ष नवराज काफ्लेले सबै दोष अरुलाई थोपर्ने तर आफू केही नगर्ने अवस्थामा सबै अभिभावक सच्चिनुपर्ने बताए । उनले हामीले बच्चालाई के सिकाइरहेका छौँ, त्यसैले नै भविष्य निर्धारण गर्ने भएको हुँदा अभिभावक नै संस्कारी हुनुपर्ने काफ्लेको भनाइ थियो ।

छैटौँ महाधिवेशनको सन्दर्भमा अभिभावक संघ नेपालले विभिन्न क्षेत्रबाट संघलाई सहयोग गर्ने शिक्षासेवीहरु जितजङ्ग बस्नेत, रघुनाथ महर्जन, सुप्रभात भण्डारी, मणिरत्न बज्राचार्य, हेरम्बराज कँडेल, सुदीप विश्वकर्मा, दीपक भण्डारी, विकासमान श्रेष्ठ, सन्तोष खड्का र अमृतजङ्ग महतलाई सम्मान समेत गरेको थियो ।

महाधिवेशनले वर्तमान अध्यक्ष केशव पुरीकै नेतृत्वमा २९ सदस्यीय कार्यसमिति चयन गरेको छ । कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष : मणिरत्न बज्राचार्य र ईश्वरकान्त मैनाली, उपाध्यक्ष : बद्री संजेल, कृष्णप्रसाद शर्मा, देवी पन्थी र पुनम निरौला, महासचिव : रामचन्द्र सुवेदी, सहमहासचिव : रामकृष्ण प्रजापति, सचिव : हिरा पौडेल, सुमित्रा न्यौपाने र रमा गिरी, कोषाध्यक्ष : केदार कार्की, सहकोषध्यक्ष : मोदती केसी, सदस्यहरुमा : विकास रोका, मिना पाठक, सुष्मा सिलवाल, राम सुवाल, शान्ता बस्नेत, रमा गिरी, निर्मला पाण्डे, श्याम केसी, शोभा बुढाथोकी, कमल तिमल्सिना, रमिला सापकोटा, रामेश्वर थापा, बेचन कापर र प्रवीण निरौला चयन भएका छन् ।

 


Recommended For You