नेप्सेमा उच्च अंकको गिरावट

काठमाडौँ । साताको पहिलो दिननेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २६.८१ अङ्कले ओरालो लागेको छ । परिसूचक १.३३ प्रतिशतले घटेर १९७९.०२ बिन्दुमा कायम भएको हो ।गत मङ्सिर अन्तिम साताको कारोबारयता आज पहिलोपटक नेप्से परिसूचक दुई हजारको बिन्दुभन्दा तल झरेको हो ।

विभिन्न तीन सय १७ कम्पनीका ८५ लाख ४६ हजार नौ सय ३० कित्ता सेयर ७१ हजार आठ सय ८० पटक खरिदबिक्री हुँदा तीन अर्ब आठ करोड ६९ लाख ५१ हजार बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । वित्त समूह र उत्पादन तथा प्रशोधन समूहको उपसूचक बढेका छन् भने अरु सबै समूहको उपसूचक घटेका छन् । वित्त समूह १.४० र उत्पादन तथा प्रशोधन समूह ०.८० प्रतिशतले बढेका छन् । सबैभन्दा धेरै जलविद्युत् समूह २.४२ प्रतिशतले घटेको छ ।

बोटलर्स नेपाल (बालाजु) लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने समाज लघुवित्त वित्तीय संस्था लिमिटेड र मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।कारोबार रकम र कारोबार भएका सेयर सङ्ख्याका आधारमा सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड सबैभन्दा अगाडि देखिएको छ । यो कम्पनीको २५ करोड १८ लाख १२ हजार दुई सय ४२ बराबरको चार लाख १५ हजार नौ सय ४९ कित्ता सेयर किनबेच भएको छ ।


Recommended For You