जापान । नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा)ले गुणराज लुइँटेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । इञ्जाको अन्तर्राष्ट्रिय टोकियो सम्मेलन लुइँटेलको नेतृत्वमा आगामी चार वर्षका लागि नयाँ कार्यसमिति चयन गर्दै आज सम्पन्न भएको छ ।
कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा विष्णु शीतल, उपाध्यक्षत्रयमा टङ्क पन्त, किशोर सापकोटा र ददि सापकोटा चयन भएका छन् । साथै महासचिवमा दीपक रिजाल र सचिवमा आनन्द कोइराला निर्विरोध निर्वाचित भए । त्यसैगरी, सदस्यमा रीता सापकोटा, कमल ढकाल, धु्रव पौडेल, विष्णु शर्मा, डावा ढकाल, विनेश खनाल, विजय थापा, अङ्कुश नेपाल र खेम भट्टचन कार्यसमितिको सदस्यमा चयन भए ।
वरिष्ठ पत्रकार भूषण घिमिरेको संयोजकत्वमा पत्रकारद्वय कृष्णा पौडेल र सिर्जना ढकाल रहेको निर्वाचन कमिटीले उनीहरुलाई निर्वाचित भएको घोषणा गरे । यसअघि आयोजित इञ्जा डेका अवसरमा आयोजित अन्तररक्रियामा टोकियोस्थित नेपाली दूतावासका नियोग उपप्रमुख एवं काउन्सुलर अम्बिकाप्रसाद जोशीले विश्वभरि छारिएर बसेका सबै नेपालीहरु आपसमा ज्ञान, सीप र अनुभव आदानप्रदान गर्नका इन्जाले ब्रेन सर्कुलेशनका कार्यक्रमहरु प्रबद्र्धन गर्न सुझाव दिए । उनले वस्तुनिष्ठ र सामाजिक उत्तरदायित्वका हिसावले सकारात्मक समाचार प्रवाह गर्न विदेशमा रहेका पत्रकारहरु सक्षम हुने विश्वास व्यक्त गरे ।
इञ्जा ग्लोबलका अध्यक्ष गुणराज लुइँटेलले व्यक्ति विशेषले कुनै लाभ प्राप्तिका लागि सामाजिक सञ्जालका माध्यमबाट प्रसारण गरेका सबै सामग्रीलाई पत्रकारिताका रुपमा बुझिदिँदा समाजमा द्विविधा उत्पन्न भएको बताउँदै सत्य तथ्यमा आधारित विषयवस्तु जनमानसमा सही तरिकाले पुर्याउन पत्रकारले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिए ।
इञ्जाले विभिन्न देशमा रहेका नेपाली नियोगसँग नजिक रहेर सहकार्य गर्न संस्था तयार रहेको उनले बताए । संस्थाका उपाध्यक्ष टङ्क पन्तले इञ्जाको उद्देश्यअनुरुप सङ्कटमा रहेका नेपाली सञ्चारकर्मीलाई गरिदैँ आएको सहयोगबारेमा इञ्जा केन्द्रित रहने बताए ।
एभरेष्ट इन्टरनेसनल स्कूलका प्राचार्य विष्णुप्रसाद भट्टले सामाजिक रुपपान्तरणमा मिडियाको महत्त्वपूर्ण भूमिका रहने बताउँदै नेपाली भेषभूषा, कला, संस्कृतिलाई अन्तर्राष्ट्रिय समुदायमा पुर्याउन आफ्नो विद्यालयले गरेको योगदान उजागर गर्न आवश्यक रहेको विचार व्यक्त गरे । एनआरएनए ग्लोबलका वरिष्ठ उपाध्यक्ष रविन शेरचन, महिला विभागकी प्रमुख अनिता गुरुङ्, साहित्यकार मञ्जु गिरी, पत्रकार मनिषा चौलागाईँ र दीपक गौतमले प्रवासमा रहेका नेपालीका समस्या र समाधान गर्न चालिनुपर्ने कदमबारे रायसुझाव दिए । सन् २०१८ मा मार्च १ तारिख स्थापना भएको इञ्जाको मुख्यालय अमेरिकामा छ भने एशिया, यूरोप र अफ्रिकामा शाखा छन् ।
