काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक ६ प्रतिशतले बढेपछि सेयर कारोबार स्थगित भएको छ । बजार खुलेलगत्तै परिसूचक चार प्रतिशतले वृद्धि भएको थियो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार चार प्रतिशतले बजार बढेपछि पहिलो पटकका लागि २० मिनेटका लागि कारोबार स्थगित गरिएको थियो । त्यसपछि खुलेको बजारमा परिसूचक पाँच प्रतिशतले बढेपछि दोस्रो पटक ४० मिनेटका लागि कारोबार स्थगित गरिएको थियो ।
त्यसपछि पुन: कारोबार सुरु भएपछि नेप्से परिसूचकमा ६ प्रतिशतको वृद्धि भएपछि आजको कारोबार स्थगित भएको नेप्सेका प्रवक्ता मुरहरि पराजुलीले जानकारी दिए । आजको कारोबारमा नेप्से परिसूचक एक सय १७.७० अङ्कले उकालो लागेर दुई हजार ७८ मा पुगेको छ । विभिन्न पाँच कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
दुई सय ३७ कम्पनीका नौ लाख ३४ हजार नौ सय १९ कित्ता सेयर ३७ करोड ५२ लाख नौ हजार नौ सय ७८ मूल्यमा कारोबार भएका छन् । कारोबार भएकामध्ये दुई सय ३० कम्पनीको सेयर मूल्य उकालो लाग्दा दुई कम्पनीको मात्रै सेयर मूल्य घटेको छ ।
