नेप्से परिसूचक उच्च ३१ अङ्कले घट्यो

काठमाडौँ । हिजो सोमबार सकारात्मक सर्किट लागेर कारोबार समयअगावै बन्द भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । नेप्से परिसूचक ७०.३१ अङ्कले घटेर २००७.६९ को बिन्दुमा कायम भएको हो । सोमबार एकैदिन परिसूचक एक सय १७.७० अङ्क अर्थात् ६ प्रतिशतले बढेको थियो । उच्च अङ्कको वृद्धिपछि आज लगानीकर्ता नाफा बुकमा लाग्दा बजार घटेको हो ।

तीन सय ६ कम्पनीको एक करोड १४ लाख ६७ हजार पाँच सय ९९ कित्ता ६९ हजार दुई सय आठ पटक खरिदबिक्री हुँदा चार अर्ब ११ करोड ३६ लाख ७६ हजार नौ सय ५८ बराबरको कारोबार भएको छ । आजको कारोबारमा दुई सय १३ कम्पनीको शेयर मूल्य घट्दा ३३ कम्पनीको मात्रै बढेको छ ।

नेप्से परिसूचकसँगै सेन्सेटिभ इन्डेक्स ३.२४ र फ्लोट इन्डेक्स ३.३७ प्रतिशतले घटेको छ । म्युचुअल फन्ड ०.६६ प्रतिशतले बढ्दा अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै अन्य समूहको उपसूचक ४.३५ प्रतिशतले घटेको छ । त्यस्तै, जलविद्युत् समूह ४.३० र उत्पादन तथा प्रशोधन ४.२० ले घटेको छ । बैंकिङ ३.०१, विकास बैंक ३.६५, वित्त २.७५, होटेल तथा पर्यटन ३.६९ र लगानी समूह ३.४८ प्रतिशतले घटेको छ ।

त्यसैगरी, जीवन बिमा समूह ३.४९, लघुवित्त १.२७, निर्जीवन बिमा समूह २.६० र व्यापार समूह २.१५ प्रतिशतले घटेको छ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै ८.७३ प्रतिशतले बढेको छ । बोटलर्स नेपाल (बालाजु) लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ भने जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयर मूल्य ९.९९ र बोटलर्स नेपाल (तराई) को सेयर मूल्य ९.४५ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएको सेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको ४१ करोड ९१ लाख २२ हजार सात सय ३५ बराबरको आठ लाख ५० हजार चार सय ६४ कित्ता सेयर किनबेच भएको छ ।


Recommended For You