बेलबारी । अम्रिसोको मूल्य निरन्तर ओरालो लागेपछि मोरङका किसान चिन्तित बनेका छन् । गत वर्षको तुलनामा यसवर्ष अम्रिसोको मूल्यमा ५० प्रतिशतले गिरावट आएपछि किसान चिन्तित हुनु परेको हो ।
गत वर्ष यही समयमा अम्रिसोको प्रतिकेजी १३० सम्म रहेकोमा हाल ५० देखि ६० सम्ममा मात्र कारोबार भइरहको मोरङ लेटाङका अम्रिसो व्यवसायी गोपाल लुइँटेलले बताए । “किसानसँग खरिद गरेको काँचो अम्रिसो सुकाउँदा औसतमा १५ देखि २० प्रतिशतसम्म घट्ने गरेको बताउँदै प्रतिकेजी ७० देखि ७५ सम्ममा झापाको धुलाबारीस्थित डिलरमा आफूले बेच्ने गरेको” उनले बताए ।
पछिल्लो समय पूर्वी पहाडी भेगका अधिकांश किसान नगदेबालीको रुपमा व्यावसायिक हिसाबले अम्रिसोे खेतीमा आकर्षित भएका छन् । “गतवर्षसम्म अम्रिसोको कुचोबाट प्रशस्त आम्दानी हुन थालेपछि किसान यसतर्फ आकर्षित भएका थियौँ, यस पटकको अम्रिसोेको मूल्यले निरास बनायो” लेटाङ– १ का किसान यामबहादुर मगरले बताए । पाँच रोपनी बारीमा लगाएको अम्रिसो वार्षिक दश मन जति उत्पादन हुने गरेको मगर बताए ।
किसान मगरका अनुसार “गत साल प्रतिकेजी १४० सम्ममा लेटाङ बजारमा अम्रिसो कारोबार भएको थियो ।” विगतका वर्षमा राम्रो आम्दानी हुने गरेकाले हौसिएर अरु बाली मासेर अम्रिसो लगाएकामा अहिले मूल्य नपाउदा दु:ख लागेको अम्रिसो उत्पादन गरेका किसान हस्त मगरले बताए ।
ओरालो र भिरालो ठाउँमा हुने अम्रिसो वर्षमा एक पटक मात्र उत्पादन हुने गर्दछ । तराईका बजारमा सजिलै बिक्री हुने भएकाले धेरै किसानको यसतर्फ आकर्षण बढेको छ । कुनै सयम बिक्री नभएर बस्तु चौपायको आहारा बन्ने गरेकामा अहिले राम्रो आम्दानीको स्रोत हुन थालेपछि किसानको यस तर्फ आकर्षण बढेको लेटाङ १ का वडाध्यक्ष विष्णु मगरले बताए ।
