खाद्यवस्तुको मूल्यवृद्धि बढी

काठमाडौँ । गत वर्षको तुलनामा यस वर्ष उपभोक्ता मुद्रास्फीति केही घटेको देखिए पनि गैरखाद्य वस्तुको तुलनामा खाद्य वस्तुको मुद्रास्फीति बढेको देखिएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको सात महिनाको तथ्याङ्कमा आधारित ‘मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनअनुसार गत माघमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.०१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यो मुद्रास्फीति ७.८८ प्रतिशत थियो ।

राष्ट्र बैंकका अनुसार माघ महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.५१ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.८५ प्रतिशत रहेको छ ।खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उप–समूहको वार्षिक विन्दुगत मूल्य सूचकाङ्क ३२.११ प्रतिशत, दाल तथा गेडागुडीको ११.१५ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको १०.७८ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.०६ प्रतिशत र तरकारीको ७.५८ प्रतिशतले बढेको छ । घ्यु तथा तेल उप–समूहको वार्षिक विन्दुगत मूल्य सूचकाङ्क भने १२.३३ प्रतिशतले घटेको छ ।

गैर–खाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथा संस्कृति उप–समूहको वार्षिक विन्दुगत मूल्य सूचकाङ्क १२ दशमलव ६१ प्रतिशत, विविध वस्तु तथा सेवाको ९.१५ प्रतिशत र शिक्षाको सात दशमलव ३१ प्रतिशतले बढेको छ । यातायात उप–समूहको वार्षिक विन्दुगत मूल्य सूचकाङ्क भने १.४१ प्रतिशतले घटेको छ । माघ महिनामा काठमाडौँ उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.९६, तराईको ४.७१, पहाडको ५.५८ र हिमालको ५.४४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त क्षेत्रहरुको यस्तो मुद्रास्फीति क्रमश: ८.४७, ७.८२, ७.३० र ७.९२ प्रतिशत रहेको थियो ।


Recommended For You