काठमाडौँ । चालु आर्थिक वर्ष २०८०८१ को माघ मसान्तसम्ममा विप्रेषण आप्रवाह, चालु खाता, शोधनान्तर स्थिति, विदेशी मुद्रा सञ्चितिलगायतका सूचकहरु सकारात्मक देखिएका छन् ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको सात महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार माघ मसान्तसम्ममा विप्रेषण आप्रवाह २१ं६ प्रतिशतले वृद्धि भई आठ खर्ब ३९ अर्ब पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २७.१ प्रतिशतले बढेको थियो ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह १९.१ प्रतिशतले वृद्धि भई अमेरिकी डलर ६ अर्ब ३१ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.४ प्रतिशतले बढेको थियो । माघ मसान्तसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या दुई लाख ४७ हजार १२ र पुन: श्रम स्वीकृति लिनेको सङ्ख्या एक लाख ५८ हजार पाँच सय ४० रहेको छ ।
चालु आर्थिक वर्षको सुरुवाती सात महिनामा खुद ट्रान्सफर २० प्रतिशतले वृद्धि भई नौ खर्ब १० अर्ब ७४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २५.२ प्रतिशतले बढेको थियो । यो अवधिसम्ममा पुँजीगत ट्रान्सफर २९ प्रतिशतले कमी आई तीन अर्ब ८० करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी पाँच अर्ब १८ करोडले धनात्मक रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर पाँच अर्ब ३५ करोड कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी एक अर्ब चार करोडले धनात्मक रहेको थियो ।
चालु खाता एवं शोधनान्तर स्थिति पनि सकारात्मक देखिएका छन् । चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा चालु खाता एक खर्ब ६१ अर्ब ६९ करोडले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ४० अर्ब १६ करोडले घाटामा रहेको थियो । अहिले शोधनान्तर स्थिति दुई खर्ब ९७ अर्ब ७२ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति एक खर्ब २८ अर्ब ५५ करोडले बचतमा रहेको थियो । गत असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति पछिल्लो सात महिना अवधिमा १९.९ प्रतिशतले वृद्धि भई गत माघ मसान्तमा १८ खर्ब ४४ अर्ब ९४ करोड पुगेको छ ।
विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति गत असार मसान्तसम्ममा १३ खर्ब ४५ अर्ब ७८ करोड रहेकोमा गत माघ मसान्तसम्म पुग्दा २०.७ प्रतिशतले वृद्धि भई १६ खर्ब २३ अर्ब ९२ करोड पुगेको छ । अहिले बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति दुई खर्ब २१ अर्ब दुई करोड रहेको छ । गत माघ मसान्तसम्मको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.६ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।
चालु आर्थिक वर्षको सुरुवाती सात महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १४.७ महिनाको वस्तु आयात र १२.३ ३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । माघ मसान्तसम्ममा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमश: ३४.३, १०२.४ र २८ प्रतिशत रहेका छन् ।
