व्यावसायिक च्याउखेतीबाट मनग्य आम्दानी गर्दै चौधरी

कैलाली । पैसा कमाउन जागिर गर्नैपर्छ वा विदेश जानुपर्छ भन्ने मान्यतालाई कैलालीको जानकी गाउँपालिका वडा नं ५ का उद्यमी एन्जिल चौधरीले गलत साबित गरिदिएकी छन् । व्यावसायिक च्याउखेतीमा लागेकी चौधरीले गाउँमा नमुना किसानको परिचय बनाएकी छन् ।

२०७६ मा सुरु गरेको च्याउखेतीले उनलाई सफल किसान बनाएको छ । उनले व्यवसायलाई बढाउँदै लगेकी छन् । “मैले सिजनअनुसार छ किसिमका च्याउको खेती गर्दै आएको छु, बेमौसममा उत्पादन भएको च्याउले बजारको मागलाई पूरा गर्न सकिएको छैन । उत्पादन भएको च्याउ बिक्रीका लागि बजार पुग्नै पर्दैन । घरबाटै सबै बिक्री हुन्छ”, उनले भनिन् ।

चौधरीले हिउँदमा कन्यालगायत प्रजातिको च्याउ उत्पादन गर्दै आएकी छन् । गर्मीमा ब्लुक्याप, पिङ्की च्याउ उत्पादन गर्दै आएका उनले बर्खामा दुधेच्याउ लगाउँदै आएकी छन् । लगानीका हिसाबले तेब्बरभन्दा बढी आम्दानी लिन सकिने व्यवसायबाट वार्षिक सात लाखसम्म आम्दानी हुने गरेको उनले बताइन् । “लगानीको तुलनामा आम्दानी अधिक छ । त्यसैले व्यवसाय विस्तार गरेको छु”, उनले भनिन्, “परिवारका अन्य सदस्यलाई पनि व्यवसायमा जोडेर काम गरिरहेको छु ।” उनले च्याउखेतीमात्रै नभई बेमौसमी तरकारीखेती र तरकारीको बेर्ना पनि उत्पादन गर्दै आएकी छन् । अहिले उनको तरकारी बारीमा बेमौसमी तरकारी उत्पादन भइरहेको छ । “च्याउखेतीबाट बचेको समय बेमौसमी तरकारीमा लगाउने गरेको छु । तरकारीका बेर्नाबाट पनि प्रशस्त आम्दानी हुन्छ, तरकारी र तरकारीको बेर्नाबाट वार्षिक चारदेखि पाँच लाख आम्दानी हुन्छ”, उनले भनिन् । राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइबाट बीउमा अनुदान पाएकी उनलाई गाउँपालिकाले प्राविधिक सहयोग गर्दै आएको छ ।

 


Recommended For You