नेपालको अर्थतन्त्र सुधारोन्मुख छः विश्व बैंंक

काठमाडौँ । विश्व बैङ्कले नेपालको अर्थतन्त्र सुधारोन्मुख रहेको जनाउँदै चालु आर्थिक वर्षमा ३.३ प्रतिशत आर्थिक वृद्धिदर कायम रहने प्रक्षेपण गरेको छ ।
पाँच महिनाअघि बैङ्कले यो वृद्धि ३.९ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको थियो । बैङ्कले मंगलबार आफ्नो अर्धवार्षिक आर्थिक परिदृश्य सार्वजनिक गर्दै आगामी आवमा देशको आर्थिक वृृद्धि ४.६ प्रतिशत हुने प्रक्षेपण पनि गरेको छ ।
पर्यटन सेवा र औद्योगिक क्षेत्रको योगदानसहित ऊर्जा र विप्रेषणको क्षेत्रमा भएको सुधारलाई आधार मानेर बैङ्कले उक्त प्रक्षेपण गरेको हो । आर्थिक परिदृश्य सार्वजनिक गर्दै मालदिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैङ्कका देशीय निर्देशक फरिस हदाद जर्भोशले पुँजीगत खर्च विस्तार, व्यावसायिक मनोबल  वृद्धि र नेपालको अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमता वृद्धि र गरिबी घटाउन भएका प्रयास सराहनीय रहेका बताए ।
उनले रोजगारी सृजना, व्यापारमा खुलापनको वृद्धि, व्यावसायिक वातावरण र संस्थाहरुको सुधार, वित्तीय क्षेत्रको प्रतिबन्ध फुकुवा, शैक्षिक सुधार र महिला अधिकारको कानुनी संरक्षणको सुदृढीकरण गर्न सुझाए । उनले रोजगारी वृद्धि र उत्पादन बढाउन तथा जलवायु अनुकूलनमा सार्वजनिक लगानीका निम्ति आधार तयार गर्न आवश्यक भएकामा जोड दिए। नेपालले आर्थिक विकासका निम्ति गरेको सुधार सराहनीय रहेको भन्दै देशीय निर्देशक जर्भोशले तीन तहकै सरकार मिलेर निजी लगानी प्रवद्र्धनमा सघाउनुपर्ने बताए ।

Recommended For You