बुटवल । एमाले पोलिटब्युरो सदस्य ठाकुर गैरले सत्यवती क्षेत्रलाई धार्मिक पर्यटकीय स्थलको नयाँ गन्तव्य बनाउने बताएका छन् । पाल्पा २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार गैरेले तिनाउँ गाउँपालिका–४ सत्यवतीमा मतदाता भेटघाट तथा घरदैलो कार्यक्रममा यस्तो बताएका हुन् ।
उनले सत्यवती क्षेत्र आफैँमा पनि पर्यटकीय हिसाबले महत्वपूर्ण क्षेत्रका रूपमा रहेकाले यस क्षेत्रको प्रवर्द्धनका लागि आफूले पहल गर्ने बताए । नेता गैरेसँगको भेटघाटका क्रममा मतदाताले स्थानीय जाल्माघाट र गोलमन्दी घाटमा पक्की पुल बनाउनुपर्ने, यहाँको कृषि क्षेत्रको विकासका लागि खास योजना बनाउनुपर्ने लगायतका माग राखेका थिए । मतदातासँगको छलफलका क्रममा नेता गैरेले जनताको भावना र आवश्यकताअनुसार आफू सधैं जनताकै सेवकका रूपमा काम गर्ने प्रतिबद्धता जनाए ।
