काठमाडौँ । सभ्य सडक संस्कारका माध्यमबाट सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ‘ट्राफिक सचेतना विशेष अभियान २०८१’ सुरु गरेको छ । उक्त अभियानको बिहान उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले शुभारम्भ गर्दै नेपालको सार्वजनिक यातायातलाई थप भरपर्दो र दुर्घटनारहित बनाउन विशेष अपरेसन सञ्चालन गर्ने घोषणा गरेका छन् ।
गृहमन्त्री लामिछानेले आवश्यक संशोधन गर्नुपर्ने नीति, नियम र ऐन संशोधन गरेरै भए पनि सार्वजनिक यातायातको रुट तथा सहज सडक यात्राको सुधारमा मन्त्रालय लागिरहेको बताए । ट्राफिक नियम पालनामा लापरवाही भइरहेको सन्दर्भ जोड्दै उनले अब प्रहरीको बोली नरम र कारबाही कडा हुनुपर्नेमा उनले जोड दिए । गृहमन्त्री लामिछानेले भने, “हामी तपाईँहरूको ज्यान जोगाउन लागेका छौँ, अब ट्राफिक नियम पालनामा निर्मम हुन्छौँ, त्यसअघि केही समय सचेतना कार्यक्रम गरेर समय भने दिन्छौँ ।” सरकारले ट्राफिक प्रहरीलाई दिँदै आएको इन्सेन्टिभ पुनः वितरण गर्ने जानकारी गराउँदै उनले अब नियम उल्लङ्घन गर्नेविरुद्ध जानकारी (रिपोर्टिङ) गर्नेलाई समेत पुरस्कार दिनेगरी काम गर्ने तयारीमा मन्त्रालय लागेको जानकारी दिए ।
सडकमा ट्राफिक लाइट जोडिँदा राष्ट्रिय समाचार बन्ने अवस्थाले नै नेपाल कति पछाडि छ भनेर देखिने उल्लेख गर्दै गृहमन्त्री लामिछानेले यो वर्ष परिवर्तनको वर्ष भएको बताए । उनले केही परिवर्तनको थालनी भइसकेको भन्दै प्रविधिमैत्री ट्राफिक व्यवस्थापनमा सरकारले जोड दिइरहेको बताए ।विगतमा सडक सुरक्षा कार्यदलले तयार पारेको प्रतिवेदन उपलब्ध गराउन आग्रह गर्दै गृहमन्त्री लामिछानेले सडक सुरक्षा सुधारका लागि आफू पूर्ण प्रतिबद्ध रहेको बताए । सबै क्षेत्रमा राजनीति हाबी भएर समस्या बल्झिरहेको बताउँदै उनले भने, “राजनीति गर्ने हामीहरूले हो, जसलाई जे गर्ने जिम्मेवारी छ त्यही गर्नुस्, राजनीति गर्ने हामीहरू छँदै छौँ ।”
गृहमन्त्री लािमछोले दुर्घटना न्यूनीकरणका लागि जरोमा जानुपर्ने भन्दै त्यो जरो भनेको लाइसेन्स दिने प्रक्रिया भएको बताए । उनले रोड परीक्षण नगरी लाइसेन्स दिनै नहुनेमा जोड दिए । उनले जुन प्रहरीको क्षेत्रमा लापरवाहीका कारण दुर्घटना हुन्छ, त्यहाँका इन्चार्जको वृत्ति विकास र मूल्याङ्कनमा नम्बर कम आउने जनाउँदै भने, “नेताको हात समातेका आधारमा नभई भ्रष्टाचार, चोर समातेका आधारमा वृत्ति विकास हुन्छ र सोहीअनुसार कामको मूल्याङ्कन हुन्छ ।”
